कस्तो चाहिन्छ पत्रकारको नेतृत्व ?

यही चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । पहिलो पटक प्रत्यक्ष निर्वाचन पद्धतिद्वारा महासंघको नेतृत्व चयन हुँदैछ । पत्रकारहरूले जिल्ला जिल्लाबाट मतदान गरेर जिल्ला, प्रदेश र केन्द्रको पदाधिकारी चयन गर्नेछन् । यसैगरी प्रतिष्ठानहरूको नेतृत्व पनि चयन गरिनेछ । करिब १३ हजार सदस्य मतदाता रहेको महासंघको केन्द्रीय समितिका लागि आगामी निर्वाचनमा अध्यक्ष तीनजना प्रत्याशीसहित चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला, प्रदेश, प्रतिष्ठानहरूमा उम्मेद्वारहरू भोट माग्नका लागि दौडधूप गरिरहेका छन् भने मतको झोली सामाजिक सञ्जालभर व्याप्त छन् । विगतमा झैं मतदातासमक्ष केन्द्रदेखि प्रतिष्ठानसम्मका उम्मेद्वारहरू पुगेका छन् । अरू बेलामा नचिनिने, नदेखिने मुहारहरू यतिबेला घरआँगन, कार्यस्थल र सामाजिक सञ्जालका साथै विद्युतीय हुलाकमा सहजै भेटिएका छन् ।
पत्रकारलाई समाजले आज किन गाली गर्दछ ? चौथोे अंग मानिने पत्रकारिता दूषित छ । यसलाई शुद्ध बनाउने प्रयास भए पनि त्यो आदर्शवादी नारामात्रै देखिन्छ । राजनीतिक रंगबिनाका पत्रकार मुस्किलले मात्रै भेटिन्छ । वास्तवमा राजनीतिक रंगबिनाको नागरिक नेपालको संविधानले परिकल्पना पनि गरेको छैन । आदर्श बोल्न र ताली पाउनु एउटा कुरा हो । तर, हरेक ब्यक्तिको आफ्नो विचार हुन्छ र पत्रकारले हरेक विचारको सम्मान गर्दछ । व्यावसायिक पत्रकार भनिए तापनि पत्रकार एउटा नागरिक पनि हो । तर, नेपाली पत्रकारिताको आदर्श नारा वा वाक्य राजनीतिले धुलिसात पारेको छ । प्राकृतिक विपत्ति, महामारी वा अन्य कुनै आर्थिक संकट आइपर्दा न्यून तलबमा काम गर्ने पत्रकारहरू नै मालिक, हाकिम वा व्यवस्थापकको कोपभाजनमा पर्छन् । तर पत्रकार आफै पनि कति व्यावसायिक छन् र कति पत्रकारिता मात्रै गर्छन् त्यो पनि खोजीको विषय हो । विभिन्न पेशा व्यवासायमा संलग्न तथा सल्लाहकार भएर कन्सल्टेन्ट भएर काम गर्नेहरू आफूलाई किन पत्रकार भनाउन चाहन्छन् ? आदर्शका कुरा एकातिर छ तर पत्रकार हुँ भन्दै हिँड्ने पनि पत्रकार के कति अन्य पेशा व्यवसायमा संलग्न छन्, कति समय पत्रकारिता गर्छन् र कति समय अन्य पेशा व्यवसाय गर्छन् । समाजले भनेको पत्रकारिता र पत्रकारहरूले गरिरहेको पत्रकारिताबीच के अन्तर छ ? यसमा विश्वविद्यालयका पत्रकारिकताका अध्यापक तथा अनुसन्धानदाताहरूले सोध गर्नुपर्ने र त्यसको निष्कर्ष समाजमा पस्कनुपर्ने आवश्यकता छ । सरकारले पत्रकारिताका विकृति, विसंगति र आयामका बारेको अनुसन्धानका लागि कति खर्च गरेको छ ? सरकारले पत्रकारको क्षमता र वृत्ति विकासका मुद्दामा कत्तिको ध्यान दिएको छ ? स्वयं पत्रकारले सिकत पत्रकारिता गर्छ र कति राजनीति वा अन्य पेशाको ढाकछोप गर्न पत्रकारितको आवरण प्रयोग गर्दछ । पत्रकार श्रमजीवी हुन् कि होइनन् ? प्रश्नहरू सामान्य नै हुन् । तर यसको उत्तरले पत्रकारिताको भविष्य निर्धारण गर्दछ ।
यतिबेला पत्रकारिताको अवसर र चुनौतीहरू के–के छन् ? नेपाली पत्रकारिताको सम्भाव्य अवसर र चुनौती के–के छन् ? पत्रकार महासंघको निर्वाचनले कस्ता व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ ? भन्नेलगायतका विविध सवालमा केन्द्रित भई नेपाल पत्रकार महासंघका तीनजना पूर्वअध्यक्ष र अध्यक्षसँग कारोबारले गरेको कुराकानीको सार :

चुनौतीको सामना गर्न सक्ने नेतृत्व आवश्यक छ
गोविन्द आचार्य
अध्यक्ष
नेपाल पत्रकार महासंघ
नेपाल पत्रकार महासंघ नेपालको पुरानो नागरिक अगुवाको संस्था हो । स्थापनादेखि हालसम्म लोकतन्त्रका लागि, नागरिक अधिकारका लागि, पत्रकारहरूका लागि, मिडियाको हकहितका लागि आवाज उठाउँदै आएको छ । भोलिका दिनमा पनि यस्ता विषयमा आवाज उठाउन सक्ने नेतृत्व लिन सक्ने व्यक्तिको खाँचो छ ।
हिजोको दिनमा हाम्रा अग्रजहरूले, पञ्चायतकालमा कठोर अवस्था थियो, त्यो अवस्थामा पनि पञ्चायती व्यवस्थाले महासंघ कब्जा गर्न खोजेको थियो, जसरी सडक आन्दोलन गर्दै लोकतन्त्रको आवाज उठाउनुभयो, अहिले पनि हामीले हामी नेतृत्वमा आइसकेपछि अनेक प्रकारका कानुन ल्याउने प्रयास भयो ।
अहिले पनि संसद्बाट विभिन्न खालका कानुन ल्याउन खोजियो, त्यसका विरुद्ध जसरी सडक आन्दोलन गर्नुप-यो, अझै पनि केही ठाउँमा पत्रकारहरूलाई तलब नदिने, निष्कासन गर्ने जस्ता कामहरू भए, त्यसमा पनि पत्रकार महासंघ कहीं झुकेन । पत्रकार महासंघ अनवरत रूपमा अघि बढ्यो, आगामी दिनमा पनि पत्रकार महासंघ पत्रकार महासंघको चरित्र र यसको गरिमा जोगाउने नेतृत्व आवश्यक पर्छ । यसका उद्देश्य पूरा गर्न सक्ने, कसैको दबाब र प्रभावमा नपरी लड्न सक्ने नेतृत्व नै चाहिएको छ । पत्रकार महासंघको पदमा आए पनि राजनीतिक प्रभाव, राजनीतिक संगठनमा आवद्ध हुनु हुन्न भन्ने मलाई लाग्छ । यो मेरो मान्यता पनि हो । महासंघमा आइसकेपछि जस्तोसुकै अवस्थामा पनि पत्रकारहरूमा राजनीतिक प्रभाव देखिन हुँदैन । कुनै पार्टीको सामान्य आस्था हुनु स्वाभाविक हो, तर महासंघमा त्यसको प्रभाव देखिन हुँदैन । यदि सत्ताधारी कुनै राजनीतिक दलको निकट पत्रकार भएमा सत्ताले गरेको नराम्रा कामको विरोध गर्न सक्नुपर्छ । श्रमजीवी पत्रकारले रोजगारी, पारिश्रमिक, नियुक्ति पत्र, तोकिएको तलबभत्ता पाएका छैनन् । प्रेस स्वतन्त्रताका लागि अझै लड्नुपर्ने अवस्था रहेको छ संसद्मा पेस भएका केही कानुनले पत्रकारलाई लेखेकै भरमा जरिवाना गर्ने, क्षतिपूर्ति गर्ने, साइबर कानुन लगाउने लगायतका विषय संशोधन गर्नुपर्नेछ । नागरिक आवाज बोल्ने, श्रमजीवी पत्रकारको आवाज बोल्ने, लोकतन्त्रको पक्षमा सधंै अघि बढ्ने चुनौतीको सामना गर्न सक्ने नेतृत्व आवश्यक छ ।
प्रस्तुति ः दीननाथ बराल

पत्रकारको हकहित स्थापित गर्ने नेतृत्व चाहिन्छ
महेन्द्र विष्ट
पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ
पछिल्लो समयमा पत्रकारिताको विधा, माध्यम र क्षेत्र फराकिलो भएको छ । हामी छापा पत्रकारिताबाट रेडियो, टेलिभिजन हुँदै मिडिया आए पनि अहिले नयाँ मिडियाका रूपमा सामाजिक सञ्जालसमेत समाचारको मूल स्रोत बनेको छ । यसैले अहिले पत्रकारिताको मूलप्रवाहको विश्वसनीयता र प्रभाव बढाउने चुनौती विद्यमान छ । त्यो चुनौतीलाई सामना गर्नका निम्ति नेपालमा पनि हामीले पत्रकारिताको क्षेत्रलाई अझै फराकिलो दृष्टिकोणले हेर्नुपर्नेछ । नेपालमा पछिल्लो समय नयाँ मिडियाका रूपमा सामाजिक सञ्जालले पाठकमा पकड जमाइरहेका छन् । यसलाई पनि पत्रकारिता र सञ्चारमाध्यमको मूलप्रवाहमा ल्याउन र विविधताको आयामले हेर्नुपर्ने आवश्यकता छ ।
विगतमा विभिन्न कालखण्डमा मुलुकमा प्रजातन्त्र-लोकतन्त्रको आन्दोलन, लोकतान्त्रिक प्रणाली नभएको अवस्थामा मिसन पत्रकारिता रहेको भए पनि अहिलेको व्यावसायिक पत्रकारिता उन्नत चरणमा छ र अझै उन्नत चरणमा जानुपर्ने अवस्था छ । अहिले मिडियाको विश्वसनीयतामाथि प्रश्न उठेको छ । यसैले पत्रकारिताको विश्वास बढाउनु अहिलेको मुख्य चुनौती हो ।
नेपाल पत्रकार महासंघको सन्दर्भमा विगतदेखि नै छलफल, बहसमा उठेका केही मुद्दा छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारका मुद्दा, पत्रकारको हक, हित, क्षमता विकास तथा वृत्ति विकासको मुद्दा विगतदेखि उठिरहे पनि निष्कर्षमा नपुगेको अवस्था एकातिर छ भने अर्कातिर पत्रकार महासंघ सबल नागरिक समाजको एक नेतृत्वदायी संस्था भए पनि नागरिक अगुवा संस्थाका हिसाबमा जुन प्रभाव, छाप र गरिमा हुनुपर्ने हो, त्योचाहिँ खस्कँदै गइरहेको छ । अब यसमा महासंघको नेतृत्व स्थापित हुनुपर्नेछ । परिवर्तनका एजेन्डा संस्थागत गर्न, राजनीतिक र अन्य क्षेत्रसँगै मिलेर पत्रकारिताले काम गर्नुपर्ने अवस्था छ । लोकतन्त्र, गणतन्त्र र संघीयताको अभ्यासलाई परिणाममुखी बनाउने गरी पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने अवस्था छ । यसैगरी सामाजिक न्याय, विविधता, समावेशितालाई स्थापित गर्नुपर्नेछ । यो सबै कुराको तस्बिर पत्रकार महासंघको नेतृत्वमा देखिनुपर्छ । पत्रकारको हकहित स्थापित गर्ने, समावेशिताका मुद्दाहरू उठान गर्न सक्ने नेतृत्व महासंघमा आउनुपर्छ । पत्रकारसँगै पत्रकार महासंघ बनाउनुपर्ने आवश्यकता रहेकाले महासंघलाई सबल, सुदृढ बनाउन सक्ने नेतृत्व आउनुपर्छ ।

न्यूनतम पारिश्रमिकसम्बन्धी कानुन कार्यान्वयन गर्ने नेतृत्व आवश्यक
शिव गाउँले
पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ
नेपाल पत्रकार महासंघ सम्पूर्ण व्यावसायिक पत्रकारको प्रतिनिधित्व गर्ने छाता संगठन हो । चैत्र २५ गते केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन हुँदैछ । म २०६७ सालमा नेपाल पत्रकार महासंघको अध्यक्ष बनें । मैले मेरो कार्यकालमा पत्रकारलाई दक्ष बनाउन तालिम दिएँ । यसपटक पत्रकारहरूको छाता संगठन पत्रकार महासंघमा प्रत्यक्ष निर्वाचन प्रणालीको सुरुवात भएको छ । यससँगै अब प्रत्येक सदस्यले नेतृत्व छनोटका लागि आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । त्यसैले अबको नेतृत्व पत्रकारिताको क्षेत्रमा खारिएको आउनेछ । पत्रपत्रिका, अनलाइनको बाइलाइनमा आउने, रेडियो–टेलिभिजनमा नाम सुनिने नाम अब नेतृत्व तहमा पुग्छ ।
अबको महासंघको नेतृत्व व्यावसायिक र निष्पक्षतामा केन्द्रित हुनुपर्छ । महासंघले सबैभन्दा पहिला पत्रकारको क्षमता विकासमा ध्यान दिनुपर्छ । पत्रकारले गर्न हुने र गर्न नहुने कामबारे जानकारी गराउनुपर्छ । आलोचनात्मक चेत भएका पत्रकारको विकास गर्न महासंघ लाग्नुपर्छ । सूचना र प्रविधिको विकास पत्रकारिताको चुनौतीका रूपमा समेत रहेको देखिन्छ, पत्रकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पनि बोल्नुपर्ने भएकाले उत्तरदायी, जिम्मेवार र मर्यादित हुनुपर्छ । सत्य, तथ्य, निष्पक्ष सूचना उपलब्ध गराएर आमनागरिकलाई सुसूचित गर्नु पत्रकारको दायित्व हो ।
सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सञ्चारमाध्यमबाट हुने सूचना प्रवाहले परम्परागत पत्रकारिता विस्थापन हुने अवस्थामा छ । त्यसकारण पनि अबको पत्रकारिता विश्लेषणात्मक बन्न आवश्यक छ । सामाजिक सञ्जालका कारण नेपाली पत्रकारिताको भविष्य खस्कँदो छ । यसलाई माथि उठाउने खालको नेतृत्व आउनुपर्छ ।
प्रत्येक वर्ष महासंघलाई सदस्यता शुद्धीकरण चुनौतीको विषय हुने गरेको थियो । यस वर्षबाट त्यो क्रमशः घट्दै गएको छ । अब महासंघले सदस्यता नवीकरण थप कडाइका साथ गर्ने हो भने धेरै हदसम्म सदस्यतासम्बन्धी विवाद हल हुने निश्चित छ । लामो समयदेखि पत्रकारको न्यूनतम पारिश्रमिकको विवाद आउँदै गरेको छ । न्यूनतम पारिश्रमिकसम्बन्धी थुप्रै कानुन बनेका भए पनि कडाइका साथ कार्यान्वयन भने हुन सकेको छैन । अबको नेतृत्वले पत्रकारका क्षमता अभिवृद्धिसँगसँगै न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि भूमिका खेल्नुपर्छ । न्यूनतम पारिश्रमिकसम्म उपलब्ध गराउन नसक्ने सञ्चारमाध्यममा पत्रकार स्वयं कामसमेत गर्नु हुँदैन । त्यसैले अबको नेतृत्व निरन्तर यही पेसामा लागिरहने दक्ष र श्रमजीवीका आवाज सम्बोधन गर्न सक्ने हुनुपर्छ ।
प्रस्तुति ः मनिषा चम्लागाईं

पत्रकारको मुद्दा बुझेको र कार्यान्वयन गर्न सक्ने नेतृत्व चाहिन्छ
धर्मेन्द्र झा
पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ
पत्रकार महासंघको नेतृत्व मुख्य गरी प्रेस स्वतन्त्रताको सैद्धान्तिक र व्यावहारिक पाटोमा केन्द्रित हुनुपर्छ । मैले बुझेको पत्रकार महासंघको मुख्य गरी तीनवटा कामहरू छन् । प्रेस स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको हकहितको संरक्षण र नागरिक स्वतन्त्रताको पक्षमा काम गरी मोटामोटी तीनवटा काम हुन् । यी तीन कामप्रति प्रतिबद्ध भएको व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्छ । माथिका कामहरूमा स्पष्ट हुन आवश्यक छ । लोकतन्त्रको संवद्र्धनबिना यी कामहरू हुन सक्दैन । त्यसैले पत्रकार महासंघको नेतृत्वमा पत्रकारिताको स्वतन्त्र मूल्य, मान्यता स्वीकार गर्न सक्ने व्यक्तिहरू आउनुपर्छ । पत्रकारका मुद्दा बुझेको व्यक्ति मात्रै हैन, त्यसलाई कार्यान्वयन गर्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्छ । प्रेस स्वतन्त्रता कुण्ठित गर्नेका विरुद्ध लड्न सक्ने, त्यसका विरुद्ध संघर्ष गर्न सक्ने व्यक्ति चाहिन्छ ।
यतिबेला पत्रकारको पेसागत र भौतिक सुरक्षाका मुद्दाहरू यथावत छन् । अहिलको पत्रकारिताको चुनौती भनेकै पत्रकारको पेसागत सुरक्षा, भौतिक सुरक्षा हुन् । पत्रकारको रोजगारीको सुनिश्चितता, पत्रकारको पेसागत असुरक्षा र अभिलेख हेर्दा पत्रकारको भौतिक खतरालगायतका चुनौतीहरू छन् । कोरोनाकालमा थु्रपै पत्रकार बेरोजगार भए । पेसाबाट विस्थापित भए । यसैले यस्ता समस्यासँग जुँध्ने नेतृत्व आवश्यक छ ।
यसैगरी पत्रकारिताको मूल्य, मान्यता संकटमा छ । पछिल्लो समयमा बनेका कानुनहरू पत्रकारितालाई कुण्ठित गर्ने, नियन्त्रण गर्ने खालका छन् । पत्रकारिताको मूल्य, मान्यताविरुद्ध आएका छन् । यसका विरुद्ध लड्न सक्ने नेतृत्व चाहिन्छ । महासंघको नेतृत्वले चुनौतीको आकलन गर्न सक्ने हुनुपर्छ, किनकि चुनौती थाहा दिएर आइलाग्दैन वा आउँदैन ।
पत्रकारका अवसरहरू पनि अनेक छन् । पत्रकारिताको आयाममा आएको परिवर्तनले प्रविधिमा दक्ष र क्षमतावान् पत्रकारले जागिर मात्रै गर्नुपर्छ भन्ने छैन । यस्तै आधुनिक प्रविधिले आफूलाई दीक्षित गराउँदै लगेमा अझै अवसरहरू छन् । पत्रकारिताको अवसर छ, तर यसलाई सदैव राम्रो बनाउँदै लैजानुपर्छ । सबै सञ्चारकर्मीले काम गर्ने सुरक्षित वातावरण बनाउने व्यक्ति नेतृत्वमा चाहिन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *