पौने दुई लाखलाई एनआरएनएको राहत

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ का बेला पौने दुई लाख नेपालीलाई राहत दिएको छ । संघले शनिबार गरेको पत्रकार सम्मेलनमा कोभिड महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको हो ।

५० देशका ३ सयभन्दा बढी सहर र राज्यमा रहेका १ लाख ७० हजारभन्दा बढी नेपालीलाई राहत दिइएको संघले जनाएको छ । सम्मेलनमा संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँग मिलेर महामारीका बेला खाना तथा बासको व्यवस्था, घर फिर्तीका लागि आंशिक हवाई टिकट, पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीलाई संघले सघाएको बताए । समस्यामा परेका नेपाली श्रमिकमध्ये घर फिर्तीका लागि ३ सय २४ जनालाई पीसीआर तथा २ सय १७ जनालाई आंशिक हवाई टिकटको व्यवस्था गरिएको संघले जनाएको छ ।

नेपालीको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर संघले विश्वभर दुई सयभन्दा बढी नेपाली चिकित्सक परिचालन गरेको संघका महासचिव हेमराज शर्माले बताए । यसका लागि संघले अमेरिका, बेलायत, युरोपियन, मध्यपूर्वी, अफ्रिकन र एसिया प्रशान्त क्षेत्रमा अनुभवी स्वास्थ्यकर्मी र चिकित्सक परिचालन गरिएको उनको भनाइ छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *