बैंकिङ क्षेत्रमा तरलता अभावको डर

२२ चैत, काठमाडौं । कोरोनाका बेला लगानी हुन नसकेको रकम यतिबेला धमाधम लगानी हुन थालेसँगै तरलता अभाव हुन्छ कि भन्ने आशंका गर्न थालिएको छ । दुई महिना अघिसम्म दुई खर्ब हाराहारीमा रहेको तरलता अहिले घटेर ५० अर्बमा झरेको छ । एक महिना वित्तीय बजारमा ६५ अर्ब रुपैयाँ हाराहारी तरलता थियो । पछिल्लो एक महिनामा १५ अर्ब रुपैयाँ तरलता घटेको बुधबारसम्मको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार होली पर्वको बिदा खुलेपछि पुनः लगानी हुने क्रम बढेर बुधबारसम्म तरलता ५० अर्ब रुपैयाँमा झरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी बढाएको उनले बताए ।

कोरोना महामारीका कारण लामो समय व्यापार–व्यवसाय ठप्प हुँदा बैंक तथा वित्तीय संस्थाहरूमा पैसा थुप्रिएको थियो । कर्जा लगानी नभएर बैंकमा पैसा थुप्रिंदा अर्थतन्त्र चलायमान हुन सकेको थिएन ।

बैंकहरूले कर्जा लगानी गर्न नसकेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनामा रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ९३ अर्ब ७५ करोड गरी कुल २ खर्ब ८३ अर्ब २९ करोड तरलता प्रशोचन गरेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ गरी कुल ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन भएको थियो । गत वर्ष बैंकहरूमा अधिक तरलता हुनै नसकेर राष्ट्र बैंकले रिपोमार्फत ९० अर्ब ७३ करोड र स्थायी तरलता सुविधा मार्फत ६९ अर्ब ५५ करोड रुपैयाँ गरी कुल १ खर्ब ६० अर्ब २८ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो ।

अभाव होला त ?

तरलता अभाव हुन्छ नै भनेर अहिले नै भनिहाल्न सक्ने अवस्था नरहेको प्रवक्ता ढकाल बताउँछन् । अहिले तरलता घटेकै आधारमा अभाव नै हुन्छ भन्न नसकिने उनको भनाइ छ । ‘अब सरकारी खर्च राम्रै होला’ उनले भने, ‘यसकारण पनि अहिले नै तरलता अभाव हुने अनुमान गर्न सकिंदैन ।’

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल पनि तरलता अभाव भइहाल्ने अवस्था नदेखिने बताउँछन् । कर्जाको माग बढेर बैंकहरूले राम्रै कर्जा लगानी गरिरहे पनि त्यस्तो खतरा नरहेको उनी बताउँछन् । ‘चैत मसान्तसम्म त अभाव हुने सम्भावना छैन नै, त्यसपछि हुने सरकारी खर्चको अवस्थामा भरपर्छ’ अध्यक्ष दाहालले भने, ‘सरकारी खर्च राम्रै भयो भने समस्या हुँदैन ।’

कर्जा लगानीसँगै ब्याजदर थोरै बढेको उनले स्वीकार गरे । तर पहिलाको जस्तो १२–१३ प्रतिशत ब्याजदर पुग्ने सम्भावना नरहेको उनले बताए । तरलता अभाव हुन नदिन सरकारले समयमै खर्च गर्नुपर्ने बताउँदै उनले भने, ‘उठाएको पैसा खर्च नगरी थुप्रिंदा समस्या हुन्छ ।’

‘डराइहाल्नुपर्ने अवस्था छैन’

पूर्व बैंकर अनलराज भट्टराई पनि तरलताका विषयमा डराइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । छिमेकी मुलुकहरूमा कोरोना संक्रमण बढ्दै गएकाले तरलता व्यवस्थापनका विषयमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

भट्टराई भन्छन्– “तुलनात्मक हिसाबले अहिले तरलता कम भएको छ । कोरोनाको बेला धेरै तरलता थुप्रिएको र अहिले निकै घटेकाले अभाव हुन्छ कि भन्ने लागेको हो, तर अहिले हामी सामान्य समयमा आएका छौं । यत्तिको ठीकै छ, योभन्दा तल गयो भने खतरा हो । अब सरकारले गर्ने पूँजीगत खर्च बढ्छ । त्यसबाट २०० देखि ३०० अर्बसम्म निक्षेप बढ्छ ।

छिमेकी मुलुकहरूमा कोरोना बढिरहेको कारण तरलता व्यवस्थापनमा राष्ट्र बैंकले अलि बढी ध्यान दिन्छ नै। यसमा राष्ट्र बैंक सजग हुन्छ, बैंकको ब्याजदर बढिहाल्छ भन्ने लाग्दैन । चैत पनि आधा सकिइसकेकाले ‘कम्फर्टेबल’ नै हुने देख्छु ।

वैशाख पछि कर्जा जाने क्रम कम हुने भएकाले १ प्रतिशत प्रोभिजन राख्नुपर्छ । जेठमा ऋण दिंदा दुई महीनाको मात्रै ब्याज आउँछ । जेठ पछि ऋण दिंदा बैंकहरूलाई फाइदा हुँदैन । राम्रो कर्जालाई पनि १ प्रतिशत खर्च छुट्याउनुपर्छ । १० प्रतिशत ब्याज लिंदा आम्दानी ९ प्रतिशत मात्रै हुन आउँछ, किनकि १ प्रतिशत रकम असल कर्जालाई पनि प्रोभिजन गर्नुपर्छ ।”

Related Posts