रु रु जलविद्युतको आइपीओमा माग भन्दा ३५.९९ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं : रु रु जलुविद्युत परियोजनाको आइपीओमा १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार दिउँसो ४ः१७ बजेसम्म ९ लाख ३५ हजार ४८७ जनाले कुल १ अर्ब ३६ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । सर्वसाधारका लागि बिक्री खुला गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३५.९९ गुणा बढी आवेदन हो ।

रु रु जलुविद्युत परियोजनाले शुक्रबार (चैत २० गते) देखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको हो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । रु रु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ ।

यसअघि रु रु ले स्थानीयलाई आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *