धमाधम डलर कार्ड जारी गर्दै बैंकहरु : कसरी लिने, फाइदा के–के छन् ?

इशारा कोइराला

काठमाडौं : पछिल्लो समय बैंकहरुले धमाधम डलर कार्ड जारी गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले प्रिपेड कार्डमार्फत ५०० डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्ने बनाउन बैंकहरुलाई निर्देशन दिएसँगै बैंकहरुले धमाधम डलर कार्ड जारी गर्न थालेका हुन् । बैंकहरुले विभिन्न नाममा जारी गरेको डलर कार्डबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिन्छ । हालसम्म अनलाइनबाट सामान वा सेवा खरिद गर्दा त्यसको भुक्तानीका लागि नेपालीहरुले विदेशी कार्डको साहारा लिँदै आएका थिए ।

विदेशमा भएका आफन्त वा साथीभाईको कार्डमार्फत यस्तो रकम तिर्नुपर्दथ्यो । तर, अब डलर कार्ड जारी भएसँगै ग्राहकले आफ्नै कार्डमार्फत अनलाइनबाट खरिद गरिने विदेशी सामान तथा सेवाको शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले अलिबाबा, अमेजन लगायत अनलाइन सपिङमार्फत खरिद गरिएको सामानको भुक्तानी कार्डबाट गर्न सक्ने बैंकहरुले जनाएका छन् ।

साथै, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायलाई आफैंले भुक्तान गरी तत्कालै प्रवद्र्धन गर्न पनि सकिनेछ । यस कार्डमार्फत सपिङ, शिक्षा लगायतमा भुक्तानी हुन्छ । उक्त कार्ड विदेशी वस्तु तथा सेवाको खरिदको भुक्तानी बाहेक अन्य पुँजीगत कारोबारका लागि भने खर्च गर्न पाइने छैन । कार्ड लिँदा प्यान नम्वर आवश्यक पर्दछ । सोही प्यान नम्बरका आधारबाट ग्राहकले अर्को बैंकबाट कार्ड लिए–नलिएको पत्ता लाग्नेछ ।

अहिले नेपालमा यस्तो कार्ड जारी गर्नेमा एनएमबि बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक (ग्लोबल इनकम डलर कार्ड), सनराइज बैंकको इ—कार्ड, माछापुच्छ्रे बैंकको स्मार्ट एमबीएल डलर कार्ड रहेको छ । यस्तै, एनआइसी एसिया बैंक, नेपाल बंगलादेश बैंक, प्रभु बैंक लगायतले पनि कार्ड जारी गरेका छन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले एनआइबीएल भि प्रिपेड इन्टरनेसनल कार्ड, हिमालयन बैंकको डलर प्रिपेड कार्ड पनि रहेको छ ।

कति लाग्छ शुल्क ?

प्रिपेड कार्ड जारी गर्दा लाग्ने शुल्क भने बैंकहरुपिच्छे फरकफरक पनि हुनसक्छ । सबैले एउटै शुल्कमा कार्ड जारी गर्नुपर्ने प्रावधान नभएकाले बैंकहरुले आ–आफ्नै तरिकाले शुल्क निर्धारण गरेका छन् । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल शुल्क बैंकहरू आफैंले निर्धारण गर्न सक्ने बताउँछन् । यस्तो कार्ड जारी गर्दा एनआइसी एसियाले कार्ड शुल्क वापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा भने निःशुल्क हुने व्यवस्था गरेको छ ।

यता, एनएमबि बैंकले ५ वर्ष अवधिका लागि यस्तो कार्ड जारी गरेको छ । यसरी कार्ड जारी गर्दा कार्डको शुल्क ५ सय रुपैयाँ लिइन्छ भने अर्को ५ सय रुपैयाँ वार्षिक कारोबार शुल्क लिइन्छ । त्यसपछि बीच–बीचमा रकम भुक्तानी गर्दा शुल्क काटिँदैन । यता, ‘प्रभु ५०० कार्ड’ को सुविधा लिन चाहने ग्राहकले कार्डको ५०० र वार्षिक शुल्क २५० गरी कुल ७५० रूपैयाँ शुल्क तिर्नुपर्ने बैंकले जानकारी दिएको छ ।

यस्तै, नबिल बैंकले भने कार्ड जारी गर्दाको बखत १ हजार रुपैयाँ शुल्क लिन्छ भने त्यसपछि वार्षिक शुल्क भनेर कुनै शुल्क लिदैंन । यसले ४ वर्षका लागि कार्ड जारी गर्छ । ग्लोबल आइएमई बैंकमा खाता भएका ग्राहकले आफ्नो नागरिकता र प्यान कार्ड पेस गरेर ५०० रुपैयाँ सेवा शुल्क तिरेर डलर कार्डको सुविधा लिन सक्नेछन् । बैंकहरू अनुसार शुल्क फरकफरक निर्धारण गरिएको छ ।

कतिपय बैंकले बीचमा कारोबार गर्दा पनि शुल्क काट्न सक्छन् । तर त्यस विषयमा ग्राहकले पहिले नै बैंकसँग जानकारी लिन पनि सक्नेछन् । कार्ड बनाएकै दिनलाई आधार मानेर सोही अनुसारको विनिमय दर अनुसार पर्न जाने रकम (५०० डलर) कार्डमा लोड हुन्छ । सो रकम एक वर्षभरिमा कारोबार गर्न सकिन्छ ।

यद्यपि यो रकम एक वर्षमै सिध्याउनुपर्छ भन्ने चाहिँ होइन । यो एक वर्षको अधिकतम सीमा मात्र भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । कुनै पनि नेपाली नागरिकले ५०० डलरसम्मको वार्षिक कारोबार गर्ने गरी प्रि–पेड कार्ड जारी हुन्छ ।

कसरी लिन सकिन्छ डलर कार्ड ?

यदि तपाईंले खाता भएकै बैंकबाट डलर कार्ड लिने हो भने कार्डका लागि एउटा अनुरोध फारम भर्नुपर्छ । तर बैंकमा आफ्नो केवाइसी विवरण भने अद्यावधिक भएको हुनुपर्नेछ । प्रचलित कानुन अनुसार आफूले सो रकम खर्च गर्ने भनी स्वघोषणाको फारम पनि ग्राहकले भर्नुपर्छ । एउटा कार्ड लिइसकेपछि अर्को बैंकबाट नलिएको वा नलिने प्रतिबद्धता गर्नुपर्छ ।

प्रचलित ऐन, कानुनभन्दा बाहिर रकम प्रयोग नगर्ने प्रतिबद्धता गरी गरेको पाइएमा कारबाही भोग्न तयार छु भन्ने आशय स्वघोषणामा उल्लेख हुन्छ । आफ्नो प्यान कार्ड र नागरिकताको प्रतिलिपि पनि चाहिन्छ । प्यान नम्बर नहुनेले भने यस्तो कार्ड पाउँदैनन् । यदि सो बैंकमा आफ्नो खाता नभएको खण्डमा भने खाता खोल्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्छ ।

Related Posts