पाला बनाउन व्यस्त भक्तपुरको कुमाल समूदाय

भक्तपुर । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिए सँगै भक्तपुरको कुमाल समूदायका मानिसहरुलाई दियो बाल्ने पाला बनाउने व्यस्तता बढेको छ । बजारमा तिहारको लागि दियो बाल्ने पालाको माग बढेसँगै कुमाल समूदाय पाला बनाउन व्यस्त बनेको हो । तिहारको रौनक थपिएसँगै भाइ मसला, फलफूल, सयपत्री र मखमली फूलको मालाकोमाग पनि दिनानुदिन बढिरहेको छ ।

बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाल समुदायलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ छ । तिहार आउन एक साता पनि समय नरहेकोले अबको २ या ३ दिनभित्र माग अनुसार पाला दिन नसके बनाएको व्यर्थ हुने भक्तपुरको पोटरी स्क्वायरका एक पाला व्यवसायीले बताए । उनका अनुसार अचेल तालक्वका कुमाल समुदायका प्रजापतिको दिनचर्या नै पाला तयार गर्नेमा बित्ने गरेको छ ।

तिहारलाई पालाको माग उच्च हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडा बनाउने कामलाई भने रोकेका छन । तिहारमा लक्ष्मी पुजाका लागि केही माग आउने भएकाले खुत्रुके बनाएपनि अन्य भाडा बनाउने कामलाई थाती राखिएको व्यवसायीको भनाइ छ ।

उनीहरु आजभोली बिहान सबेरै उठ्ने र अघिल्लो दिन तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी माग अनुसार बजार पठाउने काममा बढी व्यस्त देखिन्छन ।

जिल्लाको तालक्वका मात्रै होइन सूर्यमढी, लिवाली, तुमुचो, च्याम्हासिहं र सूर्यविनायकका कुमाल समूदायले पनि अन्य भाडा बनाउने काम रोकेर पाला बनाउने काम गरिरहेका छन ।

धनकी देवी लक्ष्मीको पूजा गर्न तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलीमली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन पालामा राखेर बत्ती बाल्ने परम्परा छ । लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाल्ने गरिन्छ ।

कुमाल समूदाय तयार भएको पाला थोक व्यापारीलाई बिक्री गर्ने गरिएको बताउँछन । उपभोक्ताले एक पालाको एकदेखि दुई सय रुपैयाँमा हजारौँको संख्यामा खरिद गर्ने गर्दछन् । यसवर्ष कोरोना महामारीका कारण विद्यालय नखुलेपछि फुर्सदमा रहेका केटाकेटी पनि बुबाआमाको काममा सहयोग गरिरहेका भेटिन्छन् ।

Related Posts