नेप्सेले रेकर्ड ब्रेक गरेको साता : अझै जारी छ कौतुहलता

काठमाडौं : सेयर बजारका लागि यस साता ऐतिहासिक बनेको छ । नेप्से सूचक यस साता विगतका सबै रेकर्डहरुलाई तोड्दै अघि बढेको छ । मंगलबार नेप्सेले इतिहासकै उच्च क्लोजिङ विन्दु पनि हासिल गरेको छ । मंगलबार नेप्से २६७४.४७ विन्दुमा बन्द भएको थियो । यस्तै, बुधबार इन्ट्रा डे कारोबारमा २६९४.९८ को उच्च विन्दुसम्म पुग्न नेप्से सफल भएको छ । यद्दपि, बिहीबार पनि झिनो अंकको सुधारसहित बजार २६७४.३५ विन्दुमा बन्द भएको छ । जुन मंगलबार बनाएको उच्च क्लोजिङ विन्दुको निकै नजिक हो ।

गत साताको तुलनामा यो साता समग्रमा नेप्से सूचक १.६१% ले वृद्धि भएको हो । गत साता बजार २६३१.९० विन्दुमा बन्द भएको थियो । गत साताको तुलनमा यो साता कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । बिहीबार सेयर कारोबार रकम ६.५६ अर्ब रुपैयाँ र बजार पुँजीकरण ३७ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । यो बजार पुँजीकरण पनि हालसम्मकै उच्च हो ।

अब के हुन्छ भनेर लगानीकर्तामा कौतुहलता जारी

विगत साताहरुमा जस्तै यस साता पनि आम लगानीकर्तामा नेप्सेको आगामी गति र प्रवृत्तिका बारेमा चासो बढ्दो क्रममा रहेको पाइन्छ । किन भने बजार उच्च विन्दुतिर अघि बढिरहेको छ । बजार पुँजीकरण पनि ३७ खर्बमा पुगेको छ । समग्रमा बजार बुल रनमा छ । बुलिस बजारले जहिले र जतिबेला पनि धेरैलाई आश्चर्य चकित पार्ने गरी नयाँनयाँ कीर्तिमानहरु कायम गर्छ, यो हाम्रो मात्र नभएर संसार भरको सेयर बजारको प्रवृत्ति हो ।

जसरी वियरिस बजारमा आम लगानीकर्ताले अनुमान गरेभन्दा न्यून विन्दुमा नेप्से झर्छ, त्यसरी बुलिसमा पनि अपेक्षाभन्दा माथि जान सक्ने तागत बजारले राख्छ । तर यसको अर्थ तुरुन्तै उच्च विन्दुमा पुग्छ भन्ने होइन । यसका लागि लामै समय लाग्न सक्छ । यसबीचमा थुप्रै उकालीओरालीहरु अनि उतारचढावहरु आउन सक्छन् । तर यी सबैलाई चिर्दै नेप्सेले नयाँ रेकर्ड भने बनाएर छाड्ने विश्लेषकहरुको भनाई रहेको छ ।

बल रन, तरलता सहज हुँदै जानु, ब्याजदर सस्तो नै रहनु, सेयर बजारमा अनलाइन प्रवृत्ति भित्रिनु, सेयर बजारमा सिजन सुरु हुनु र लगानीकर्ताको सकारात्मक मनोभावना वृद्धि लगायतका कारण सेयर बजारले क्रमशः नयाँ उचाई लिने धेरैको विश्लेषण रहेको छ ।

नेप्सेमा दैनिक कारोबार रकम

गत साताको तुलनामा यस साता दैनिक कारोबार रकममा उल्लेख्य सुधार भएको छ । यसबाट बजारमा लगानीकर्ताको उपस्थिति र आत्मविश्वास पनि बढ्दै गएको अनुमान लगाउन सकिन्छ । बिहीबार सबैभन्दा थोरै ६.५६ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने आइतबार सबैभन्दा धेरै ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता औसतमा दैनिक ७.१५ अर्ब रुपैयाँको सेयर किनबेच भएको देखिन्छ ।

सूचीकृत समूहरुको प्रदर्शन

यस साता सूचीकृत समूहगत प्रदर्शन मिश्रित देखिएको छ । आधा समूहमा वृद्धि भएको छ भने आधामा गिरावट आएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा १५.४७% वृद्धि भएको छ । त्यसपछि, माइक्रोफाइनान्स ६.९१% र फाइनान्स ६.६७% वृद्धि भएको छ । ट्रेडिङ समूह भने सबैभन्दा धेरै १५.०५% ले घटेको छ । यसपछि, लगानी समूह २.६४% र निर्जीवन बिमा समूह ०.८४% ले घटेका छन् ।

धेरै कमाउने

यस साता एनआइसी एसिया लघुवित्तको सेयर भाउ सबैभन्दा धेरै ६०.७६% ले वृद्धि भएको छ । स्वदेशी लघुवित्तसँग मर्जरका कारण लामो समयसम्म एनआइसीको सेयर कारोबार रोक्का रहेको थियो । कारोबार खुल्ना साथ यस लघुवित्तको सेयर भाउ सर्किट लागेर बढ्नेक्रम जारी रहेको छ । त्यसै, दोस्रोमा वोमी लघुवित्तको भाउ ३१.९५% र तेस्रोमा चन्द्रागिरी हिल्सको २८.०५% ले भाउ बढेको छ ।

धेरै गुमाउने

अजोड इन्सुरेन्सको भाउमा यस साता सबैभन्दा धेरै १८.०४% ले गिरावट आएको छ । बिमा समितिले ५०% हकप्रद सेयर प्रस्ताव हटाउन निर्देशन दिएपछि अजोडको भाउ घटेको हो । यसका साथै, इन्साइडर ट्रेडिङमा मुछिएपछि धितोपत्र बोर्डले छानबिन गर्न समिति पनि गठन गरेको छ । दोस्रोमा साल्ट ट्रेडिङ कर्पोरेसनको भाउ १५.८९% र तेस्रोमा रैराङ हाइड्रोपावरको भाउ ५.५०% ले घटेको छ ।

Related Posts