हिमगिरी साबुनद्वारा मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड

विराटनगर / मोरङको बूढीगङ्गामा रहेको हिमगिरी साबुन फ्याक्ट्रीका कारण वरिपरिका स्थानीय समस्या भोग्न बाध्य भएका छन् । उद्योगले मानव स्वास्थ्यलाई बेवास्ता गर्दै मनोमानी ढङ्गबाट उद्योग सञ्चालन गर्दै आएको बूढीगङ्गा–२ का स्थानीयले बताएका छन् ।

यस विषयमा उद्योगलाई बारम्बार खबरदारी गर्दासमेत बेवास्ता गरेको उनीहरूको गुनासो छ । उद्योगबाट फैलिएको दुर्गन्धले गाउँ नै निसास्सिने गरेको छ । बाहिरबाट आएका मानिस त दुर्गन्धकै कारण बस्नसमेत सक्दैनन् । यस विषयमा पटक–पटक स्थानीयले आवाज उठाउँदासमेत पहुँचका भरमा उनीहरूको आवाज दबाइने गरिएको छ ।

साबुन फ्याक्ट्रीको छेउमा बसोबास गर्दै आएका सबै मानिसको स्वास्थ्यमा विभिन्न समस्या पर्ने गरेको बूढीगङ्गा–२ टङ्कीका स्थानीय दुर्गा खतिवडाले बताए । उद्योगबाट निक्लने धुँवा र दुर्गन्धमा निसास्सिएर बस्न बाध्य भएको उनको भनाइ छ । धुँवासँगै निक्लने छाई आँखामा पर्ने, घरमा र कपडामा समेत लाग्ने गरेका कारण धेरै समस्या भएको उनले बताए । विभिन्न समयमा उद्योगलाई ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको उनको भनाइ छ ।

विभिन्न निकायमा जानकारी गराउँदा पनि समस्या समाधान नभएको भन्दै खतिवडाले भने, ‘आँखामा छाई परेर बारम्बार समस्या निम्तिरहेको छ, यस्तै लुगाकपडा सुकाएकै ठाउँमा छाईले कालो बनाइदिन्छ, दुर्गन्ध पनि त्यस्तै छ, हामी त बानी परिसक्यौँ, तर कोही पाहुना आएमा बस्न नसक्ने अवस्था छ ।’ उद्योगले स्थानीयको स्वास्थ्यप्रति सचेत रहनुपर्ने भन्दै उनले भने, ‘हामीले उद्योग नै हटाउनु पर्छ भनेको हैन, तर दुर्गन्ध हटाएर छाई नउड्ने तरिकाले व्यवस्थापन गर्नुप¥यो, हाम्रो माग यही हो ।’ बारम्बार उद्योगले समस्या समाधान गर्छौँ भने पनि अहिलेसम्म कुनै चासो नदेखाएको उनको भनाइ छ ।

बूढीगङ्गा–२ टङ्कीका रामप्रसाद तिमल्सिनाको घर उद्योगबाट नजिकै छ । उद्योगबाट फैलिएको दुर्गन्धले बेलाबेलामा टाउको दुख्ने, बमिट हुनेजस्ता समस्या हुने गरेको उनले बताए । उद्योगबाट निक्लिएको छाईका कारण घर नै कालो हुने गरेको बताउँदै उनले भने, ‘छाई आँखामा परेर झन् समस्या हुने गरेको छ, आँखामा परेपछि विभिन्न समस्या देखिने गरेको छ, अस्पताल नै पुग्नुपर्छ ।’

बारम्बार ध्यानाकर्षण गर्दासमेत समस्या समाधानमा उद्योगले बेवास्ता गरिरहेका कारण थप सङ्घर्षका कार्यक्रम गर्न बाध्य हुने उनले बताए । विभिन्न ठाउँमा कुरा राख्दासमेत कसैले चासो नदेखाएको उनको भनाइ छ । केही समयपहिला आगलागी भएको स्मरण गर्दै उनले भने, ‘घरछेउमा नै केमिकल राखेको छ, पहिला दिउँसो आगलागी भएका कारण घरहरू जोगिए, जोखिमका बीच बस्न बाध्य भएका छौँ ।’

स्थानीय वकिल न्यौपाने पनि उद्योगको कार्यप्रति असन्तुष्ट छन् । उद्योगले घरछेउमा नै टँसाएर टिनको बेरा गरेर केमिकल राखेका कारण थप जोखिममा परेको उनको भनाइ छ । ‘दुर्गन्ध र छाईको समस्या त छँदै छ’, उनले भने, ‘जोखिमयुक्त केमिकलका कारण थप जोखिम थपिएको छ ।’ घरछेउमा केमिलक नराख्नुहोस्, हटाउनुहोस् भन्दा अटेर गरिरहेको उनले गुनासो गरेका छन् । उद्योगले नियमकानुन मिचेर आफूखुसी विभिन्न कार्य गर्दासमेत नियमनकारी निकाय मौन बसेको उनको भनाइ छ ।

उद्योगबाट पीडित भएपछि स्थानीयले सङ्घर्ष समितिसमेत बनाएर ध्यानाकर्षण गर्दै आएका छन् । तर उनीहरूको आवाज कसैले सुनेका छैनन् । उद्योगबाट आएको छाई र दुर्गन्ध नियन्त्रण्मा पहल गरिदिन भन्दै वडा कार्यालयदेखि विभिन्न निकायलाई गुहार्दासमेत समस्या समाधान नभएको सङ्घर्ष समितिकी संयोजक गीता सुवेदीले बताइन् । उनले भनिन्, ‘हाम्रो आवाज कसैले नसुनेपछि थप पीडित भएका छौँ ।’ पछिल्लो समय मानवअधिकारबाट आएको टोलीलाई उद्योगले छ महिनाभित्रमा समस्या समाधान गरेर स्थानीयलाई यस्ता समस्याबाट मुक्त गर्ने भनेको थियो । तर दुई महिना पुग्नलाग्दासमेत कुनै सुनुवाइ नभएका कारण थप सङ्घर्षका कार्यक्रम गर्न बाध्य हुने उनले बताइन् ।

यस्तै उद्योगले सरकारी जग्गासमेत अतिक्रमण गरेको स्थानीयले बताएका छन् ।

Related Posts