कोरोनाको नयाँ प्रजातिको त्रास: विद्यालय बन्द गर्न प्रस्ताव, आवागमन नियन्त्रण गर्ने निर्णय

कोरोना संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्न प्रस्ताव भएको छ । आज शनिवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले नयाँ प्रजातिको कोरोना बढेको भन्दै बढी संक्रमण भएका स्थानका विद्यालय कम्तीमा ३ साता बन्द गर्न प्रस्ताव गरेको हो ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले गरेको उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकले निर्णय गरेमा मात्र कार्यान्वयनमा आउने छ ।

कोरोनाको नयाँ प्रकार तिब्र रुपमा फैलदै गएकोले बैठकले यस्तो प्रस्ताव गरेको हो । काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट)को मात्रा बढेको बैठकले जनाएको छ। विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेको पाईएको छ । बैठकले नयाँ भेरियन्ट देखिएको स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्न प्रस्ताव गरेको छ ।

बैठकले सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र सो को कडाइका साथ अनुगमन गर्न डिसिसिएमसी (जिल्ला कोभिड नियन्त्रण केन्द्र)हरुलाई निर्देशन दिएको छ ।

बैठकले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन सबै पक्षमा अपील समेत गरेको छ । संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत बैठकले गरेको छ । कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका पनि जारी गर्ने निर्णय बैठकले गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि यी प्रस्ताव कार्यान्वयनमा आउने छन् ।

Related Posts