नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटबाट बिजुली किन्न पाउने

गोपालचन्द्र सुवेदी

काठमाडौँ, वैशाख ३ गते । नेपाल–भारत विद्युत् व्यापार सहज र प्रतिस्पर्धी मूल्यमा गराउने र बङ्गलादेशसम्म पनि नेपालको बिजुली निर्यातको सम्भावना खोल्ने गरी नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्जको सदस्यता
पाएको छ ।
भारतको ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ऊर्जा एक्सचेन्ज मार्केटको सदस्यता प्रदान गरिएको र अब त्यहाँबाट विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको छ ।
प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले कसैको हस्तक्षेपबिना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गर्न सकिने भएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो ।
“दुई मुलुकबीचको विद्युत् व्यापारका लागि यसको ऐतिहासिक महìव छ,” शाक्यले भन्नुभयो । “ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बङ्गलादेशसम्मको विद्युत् व्यापारका लागि अर्को स्टेपसमेत खुला भएको छ । ”
प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत् बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत् बर्खाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरेको कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।
प्राधिकरणले भारतीय ऊर्जा बजारमा विद्युत् खरिद र बिक्रीका लागि प्रस्ताव गरेको थियो तर खरिदको स्वीकृति पाए पनि बिक्रीका लागि माग भएको थप आवश्यक कागजात पठाएको शाक्यले जानकारी दिनुभयो ।
सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन उल्लेख्य घटेको छ । यही अवस्थामा भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृति पाएकाले प्राधिकरणले तत्काल करिब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएको छ ।
प्राधिकरणले अहिलेसम्म एनटीओपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन), पावर ट्रेड कम्पनी (पीटीसी) र विहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीसँग विद्युत् खरिद गर्दै आएको छ । अब भारतीय बजारबाट सोझै आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात गर्न सकिने शाक्यले बताउनुभयो ।
प्राधिकरणको तथ्याङ्कअनुसार चैतमा प्राधिकरणका आरओआर र अर्धजलाशययुक्त विद्युत् गृहबाट औसतमा दुई सय मेगावाट, जलाशययुक्त कुलेखानीबाट ६० मेगावाट र निजी क्षेत्रका विद्युत् गृहहरूबाट २०० मेगावाट विद्युत् उत्पादन भएको छ भने भारतबाट ७१० मेगावाट आयात गरिएको छ । प्रणालीमा विद्युत्को उच्चतम माग एक हजार ४६३ मेगावाट, औसत माग एक हजार १५० मेगावाट पुगेको छ ।
यो माग पूर्ति गर्न प्राधिकरणका विद्युत् गृहहरूबाट अधिकतम ३४० मेगावाट, कुलेखानीबाट १०३ मेगावाट, निजी क्षेत्रका विद्युत् गृहहरूबाट २०० मेगावाट र भारतबाट अधिकतम ७८० मेगावाट आयात गरिएको छ ।
धनुषाको ढल्केबर पूर्वतर्फ विद्युत् आपूर्तिका लागि समस्या छैन । ढल्केबर पश्चिम बाँकेको कोहलपुरसम्म विद्युत्को माग अधिक रहेको तर प्रसारण तथा वितरण पूर्वाधार पनि पर्याप्त नरहेकाले आपूर्तिमा समस्या छ । ढल्केबरबाट रौतहटको चन्द्रनिगाहपुरसम्म हाल रहेको १३२ केभी प्रसारण लाइनमार्फत करिब २०० मेगावाट मात्रै विद्युत् प्रवाह हुन सक्छ ।
प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत् आयात गरिरहेको छ । प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन)बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरिद बिक्री (पीपीए) सम्झौता भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म छ ।
वैशाखको अन्तिमबाट ४५६ मेगावाटको माथिल्लो तामाकोसीको एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन सुरु हुने भएकाले माग र आपूर्तिको व्यवस्थापन गर्न केही सजिलो हुने प्राधिकरणको विश्वास छ ।

Related Posts