इटहरीमा वडाको असहयोगका कारण जग्गाको डिजिटल नापी रोकियो

Tweet

इटहरी । सरकारले जग्गाको डिजिटल अभिलेख राख्ने काम सुरु गरेको छ । त्यसका लागि नापी कार्यालयमार्फत् विभिन्न ठाउँहरुमा जग्गाको नापजाँच डिजिटल प्रणालीबाट सुरु गरेको छ । तर सुनसरीको इटहरीमा भने जनप्रतिनिधिको असहयोगका कारण नापी कार्य अवरुद्ध बनेको छ ।

जग्गा नाप्दा विवाद आएको र झन्झट बढेको भन्दै इटहरीको वडा नं.७ कार्यालयले नापी कार्य बन्द गराएको छ । नापी कार्यालय सुनसरीले इटहरी ७ बाट जिल्लामै पहिलो पटक डिजिटल नापी सुरु गरेको थियो ।

२०७६ साल माघ महिनादेखि उक्त वार्डमा नापीको काम सुरु गरिएकोमा कोरोना महामारीका कारण कन्ट्रोल सर्वेको काम मात्र हुन सकेको थियो । यो आर्थिक वर्षदेखि सुरु भएको नापीको कामले तीन महिना पनि निरन्तरता पाउन नसकेको नापी कार्यालय सुनसरीका प्रमुख सञ्जीवकुमार शाहले जानकारी दिए ।

माओवादी द्वन्दकालमा सुनसरीको नापी कार्यालयमा भएको बम विष्फोटमा परी धेरै नक्सा तथा कागजातहरु नष्ट भएको थियो । त्यसमा उक्त वडाका जग्गाको समेत नक्साहरु परेका थिए । त्यसैले कार्यालयले केही वर्ष पहिले पनि नापी गरेको थियो, जसले पूर्णता पाउन सकेको थिएन । अहिले भने नयाँ प्रविधिबाट डिजिटल नापीको काम सुरु गरिएको थियो । ‘तर वडाले धेरै विवाद आयो, रोक्नु भनेपछि हामीले रोक्न बाध्य भयौं,’ शाहले भने ।

यता वडाध्यक्ष नरबहादुर राईले भने निकै सुस्त काम गरेको, पारदर्शी काम नगरेको तथा विवाद बढी भएर वडामा मानिसहरु आउन थालेपछि रोकेको बताए । ‘तीन महिनामा ५० विगाहा पनि नापेनन्, त्यसमा पनि २० बिगाहा जति ब्लकमै राखियो,’ उनले भने, ‘साँध सधिँयार मिलाउन नखोज्ने, जग्गाधनीले ल्याएको अमिनीलाई नाप्न नदिने, राखिएका अमिनहरु पनि कसैले पैसाको लोभ देखाएर बोलायो भने कुदिहाल्ने भएपछि हामीले रोकेका हौं ।’

तर शाहले भने विवाद आयो भनेर वडा कार्यालय पन्छिनु अचम्म भएको बताए । ‘जग्गाको नापीमा जहाँ पनि विवाद आउँछ नै, तर त्यो एक पटकका लागि हो,’ एक दुई जना सदस्यको दबाबमा वडाध्यक्षले काम रोकेको बताउँदै उनले भने, ‘पछि पनि विवाद आउने नै हो, बरु अहिले नै समाधान गरेर जानुपथ्र्यो ।’
उनका अनुसार अहिले वडाको नापी २० प्रतिशत मात्र सकिएको छ । जम्मा दुई जना कर्मचारी खटिएका छन् । ती पनि जिल्ला कार्यालयको काममा कहिलेकाहिँ खटिनुपर्ने हुँदा कर्मचारी अभाव भएको स्वीकार गरे । तर सुनसरीलगायत देशका विभिन्न आधा दर्जन बढी जिल्लाहरुमा भइरहेको डिजिटल नापीका लागि विभागले कर्मचारीलाई करारमा राख्ने योजना बनाएको छ ।

‘कर्मचारी थप्न समय लाग्छ, बरु अहिले कार्यक्रमलाई निरन्तरता दिउँ भनेर भन्दा पनि सुनुवाई भएन,’ शाहले भने, ‘सर्वसाधारणहरु त नापी गराउन आइरहनुभएको छ, तर वडा समितिले सहयोग गरेन ।’

शाहका अनुसार माओवादी द्वन्दकालमा ध्वस्त भएको अर्घाखाँचीको नापी कार्यालयले गराइरहेको डिजिटल नापी अन्तीम चरणमा छ । यस्तै पाल्पा र सिरहामा निरन्तर चलिरहेको छ भने संखुवासभामा भर्खर सुरु भएको छ । बनेपा, धुलीखेल र पनौतीमा पनि जग्गाको भाउ आकाशिएपछि त्रुटीरहित नापीका लागि डिजिटल नापी गरेर अभिलेख राख्ने काम भइरहेको छ ।

‘परम्परागत ग्राफिकल नापीमा हुने त्रुटीहरु डिजिटल नापीले हटाउँछ र जग्गाको दुरुस्त नाप अभिलेखीकरण गर्छ,’ उनले भने । उनकाअनुसार मानिसले हातैले बनाएको नक्साका कारण ग्राफिकल नापीमा चार पाँच फुटसम्म नाप फरक पर्ने गथ्र्यो भने डिजिटल नापीमा दुरुस्तै नक्सा तयार हुन्छ । उनले डिजिटल प्रणालीबाट गरिएको मापनले नापी तथा मालपोत कार्यालयको काम छिटो छरितो र त्रुटीरहित बनाउन मद्धत गर्ने बताए ।

उनकाअनुसार यो नाप सकिएपछि बाटो, जग्गाका सिमानाको किचलो नहुने, नक्सामा कित्ता सहजै फेला पार्न सकिने, ऐलानी जग्गाहरु यकिन हुने, जग्गा खरिद बिक्रि लगायतका कामहरुमा सहजता जस्ता फाइदाहरु हुन्छन् ।

Related Posts