शेयर बजारमा दोहोरो अङ्कको गिरावट : ५ अर्ब बराबरको कारोबार, कुन समूहको परिसूचक कति घट्यो ?

काठमाडौँ / साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ । अघिल्लो कारोबार दिन मंगलबार सामान्य अङ्कले बृद्धि भएको बजार आज भने ३२.४१ अङ्क अर्थात १.२२ प्रतिशतले ओरालो लागेको हो ।

आज ठूला तथा बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अङ्कले घटेर ४७३.४० बिन्दुमा झरेको छ । बुधबार कूल २१४ कम्पनीको ६६ हजार ४८० पटकको व्यापारमा एक करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर खरिदबिक्री भएका छन् भने ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्से परिसूचक घटेसँगै बजार पूँजीकरण रकममा समेत गिरावट आएको छ । आजको बजार पूँजीकरण रकम ३६ खर्ब ४४ अर्ब ८२ करोडमा सीमित भएको हो ।

यसदिन म्युचुल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ । बुधबार बैंकिङ् समूहको परिसूचक १.३६ प्रतिशत, विकास बैंक समूहको २.१० प्रतिशत, वित्त समूहको १.५९ प्रतिशत, लघुवित्तको १.०७ प्रतिशत, निर्जीबन बीमाको १.१७ प्रतिशत र जीवन बीमा शेयरमूल्य ०.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै, हाइड्रोपावर समूहको १.१५ प्रतिशत, लगानी समूहको १.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.४८ प्रतिशत र व्यापारिक समूहको परिसूचकमा १.२२ प्रतिशतको गिरावट आएको छ ।

शेयर मूल्य घटेका / बढेका कम्पनीहरू
उच्च अङ्कले घटेको बजारमा आज ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य भने सर्वाधिक बढी करिब १० प्रतिशतले बृद्धि भएको छ । उक्त कम्पनीको अन्तिम मूल्य प्रतिशेयर ८२६ रुपैयाँ कायम भएको छ । त्यस्तै, महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि आज ९.९६ प्रतिशतले बढेको छ ।

ग्रीन डेभलमेन्ट बैंकको शेयरमूल्य ९.९० प्रतिशत र हिमाल दोलखा हाइड्रो पावर कम्पनीका लगानीकर्ताहरुले आज ९.८० प्रतिशत नाफा कमाएका छन् ।

त्यस्तै, आज लिबर्टी इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य ५.१७ प्रतिशतले घटेको हो ।

बुधबारको कारोबार रकममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको योगदान सर्वाधिक रहेको नेप्सेको आँकडा छ । उक्त कम्पनीको २५ करोड ४५ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

Related Posts