विजय लघुवित्तको नाफा घट्यो, रिजर्भ बढ्यो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २१.५८ प्रतिशतले घटेको छ।

मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थालाई ३५ लाख ४९ हजार रुपैयाँ सञ्चालन घाटा भएको छ। जब कि गत वर्ष यही अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत २ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको थियो।

प्रथम त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत ६ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ६ करोड १ लाख रुपैयाँ थियो।

संस्थाले समीक्षा अवधिमा २ अर्ब ७८ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई ३ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार १४.५५ प्रतिशतले बढेर १२ करोड ४२ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार १० करोड ८४ लाख रुपैयाँको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३१.५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) २८.८९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५५.४७ रुपैयाँ रहेको छ।

Related Posts