ज्योति विकास बैंकको खुद नाफा ३८.१९ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानीमा सुधार

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ३८.१९ प्रतिशत बढेर ६० करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ भने खुद नाफा बढेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा ३८.१९ प्रतिशत बढेर ६० करोड २५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै खुद ब्याज आम्दानी ६.३३ प्रतिशत घटेर १ अर्ब १ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी घटेपनि नेट फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढेको हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३८.२४ प्रतिशत बढेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ९ करोड ५४ लाख रुपैयाँ मात्र थियो ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १६ रुपैयाँ ६३ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ २६ पैसा बढेर २० रुपैयाँ ८९ पैसा पुगेको छ ।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

Related Posts