वित्थडचिरको प्राथमिकतामा कृषि र स्वास्थ्य

बझाङको वित्थडचिर गाउँपालिकाले कृषि, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिएको छ । सार्वजनिक सेवा प्रदान गराउन नागरिकहरूलाई सरकारको प्रत्याभूति गराउने किसिमबाट बजेटको व्यवस्था गरिएको छ । यस आर्थिक वर्षको बजेटमा गाउँपालिकाले पूर्वाधार विकास, कृषि, स्वास्थ्य र रोजगारी सिर्जनामा विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बोहराले बताए ।

कृषितर्फ गाउँपालिकामा तरकारी खेती, फलफूल खेती तथा पशुपन्छीपालनको राम्रो सम्भावना छ । कृषि क्षेत्रमार्फत गाउँपालिकालाई समृद्ध बनाउन युवाहरूलाई कृषिमा आकर्षण गराउने र स्वरोजगार प्रदान गर्ने लक्ष्यका साथ योजना कार्यान्वयन गरिएको छ । कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएको उनको भनाइ छ ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहित गरेको छ । गाउँपालिकामा रहेका विभिन्न सहकारीमार्फत कृषकहरूलाई विशेष अनुदान प्याकेज दिइएको छ ।

अहिले गाउँपालिकामा व्यावसायिक रूपमा मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादन, कुखुरापालन, बाख्रापालन भइरहेका छन् । दुईवटा तरकारी तथा फलफूल ब्लक र ११ वटा पकेट क्षेत्र छन् । सहकारीमार्फत कृषकको क्षमता विकास तालिम, कृषक समूह गठन, सामूहिक कृषि प्रणालीको अभ्यास गरिँदै आएको छ ।

शिक्षक अभावका कारण पठनपाठनमा समस्या हुने गरेका गाउँपालिकाका विभिन्न विद्यालयहरूमा १ सय २३ जना स्वयंसेवक शिक्षक भर्ना गरेर कक्षा १२ सम्म पूर्ण रूपमा निःशुल्क शिक्षा गरिएको छ । बालमैत्री शिक्षाको अवधारणा ल्याएर अभ्यास भइरहेको छ । आउने शैक्षिक सत्रबाट लागू हुने गरी स्थानीय पाठ्यक्रम निर्माणको चरणमा छ । विद्यालयका भवन निर्माण, प्रयोगशाला तथा कम्प्युटर कक्ष स्थापना गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका विभिन्न शैक्षिक कार्यक्रम अघि सारेको छ ।

प्राविधिक शिक्षा सञ्चालनमा ल्याउने विद्यालयलाई विशेष अनुदानको व्यवस्था गरेर शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको केन्द्र नजिकै रहेको देवेश्वरी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षातर्फ कृषि विषयको पढाइ हँुदै आएको छ । सुनुकुडा माध्यमिक विद्यालय, सुनकुडामा आईटी विषयको पढाइ सञ्चालन हुँदै आएको छ । प्राविधिक शिक्षा सञ्चालनका लागि गाउँपालिकाले विद्यालयलाई विशेष अनुदान सहयोग गरेको छ ।
सैद्धान्तिक पढाइसँगसँगै विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षणका लागि जग्गा भाडामा लिएर विद्यालयले प्लास्टिक टनेल, पक्की टनेल निर्माणमार्फत तरकारी खेतीलाई अभियानका रूपमा सञ्चालन गरिएको छ ।

पूर्वाधार विकासमा गाउँपालिकाले विशेष जोड दिएको छ । गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छ । पालिकामा रहेका ९ वडामध्ये ३ वटा वडा कार्यालयका भवनहरू निर्माणको अन्तिम चरणमा छन् भने ६ वटा भवन निर्माणका लागि टेन्डर प्रक्रियामा छ ।

गाउँमा आरसीसी बाटा र खोलामा आरसीसी पुलहरू निर्माण भएका छन् । गाउँपालिकाका सबै वडा कार्यालयसम्म सडक सञ्जालको पहुँच पु-याइएको छ भने १४ वटा कृषि सडक निर्माणको चरणमा छन् । सबै वडामा विद्युत् लाइन विस्तार गरिएको छ ।

एक वर्षमै ४५ प्रतिशत घरधुरीलाई विद्युत्को पहुँचमा पु-याइएको छ । स्वास्थ्यको पहुँचका लागि वर्थिङ सेन्टरका भवनहरू निर्माण भएका छन् । खानेपानीतर्फ ८ सय ३७ घरधुरीमा एक घर एक धारा निर्माण भएका छन् भने १ सय २७ सामूहिक र ३७ भन्दा बढी सार्वजनिक धारा छन् ।
घरमाथि पानीको मुहान नभएको ठाउँमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सोलार लिफ्टिङ प्रविधिबाट एक घर एक धारा अभियान सञ्चालनमा छ ।

सुरुवातमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र र दुईवटा स्वास्थ्य चौकीबाट मात्र दिँदै आएको स्वास्थ्य सेवा हाल सेवा विस्तार गरेर यीबाहेक दुईवटा सामुदायिक स्वास्थ्य एकाइ र नौवटा आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट सहज स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ । गाउँपालिकामा कोरोना व्यवस्थापनका लागि सुरुदेखि नै प्रभावकारी कार्यहरू भएका छन् ।

देशमा आइपरेको यस्तो महामारी गाउँपालिकाले लिएको लक्ष्य प्रभावकारी हुन सकेको छैन । गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोत छैन । त्यसैले प्रदेश र केन्द्रीय सरकारले पठाउने बजेटमा भर पर्नुपरेको छ । बजेट अभावका कारण अपेक्षा गरिएअनुसारको काम गर्न सकिएको छैन । गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने अभियानमा छांै ।

Related Posts