माछापुच्छ्रे बैंकको खुद मुनाफा १ अर्ब २९ करोड बढि, यस्तो छ वित्तीय विवरण

काठमाडौँ / चालू आर्थिक वर्ष २०७७ / ७८ को तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको खुद मुनाफा रकम १०.६० प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक बर्षको तेस्रो त्रैमासमा १ अर्ब १६ करोड ६८ लाख ५५ हजार रुपैयाँ नाफा गरेको बैंकले चालू आवको सोही अवधि (तेस्रो त्रैमास) मा भने १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ नाफा गरेको हो ।

समीक्षा अवधिमा बैंकले ३ अर्ब १६ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो रकम गत आर्थिक बर्षको सोही अवधिमा भने ३ अर्ब ३ करोड ८९ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

तेस्रो त्रैमाससम्म बैंकको शेयरधनीहरूलाई वितरण गर्न मिल्ने वितरणयोग्य मुनाफा रकम भने ८४ करोड ६९ लाख ९ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रकम १ अर्ब ९४ करोड ४७ लाख २३ हजार रुपैयाँ रहेको छ । यो रकम गत आवको सोही अवधिमा भने १ अर्ब ७८ करोड ८४ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो बर्षको तेस्रो त्रैमासमा १ खर्ब ४ अर्ब ९ करोड ८८ लाख ९९ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर ९२ अर्ब ५२ करोड ९२ लाख २६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । तर, चालू आवको तेस्रो त्रैमासमा भने यो रकममा बृद्धि गरी १ खर्ब २५ अर्ब ४९ करोड ८३ लाख ११ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर १ खर्ब १२ अर्ब ५७ करोड ४९ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी रकममा पनि बृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा ८ अर्ब ४५ करोड ८४ लाख ७७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकको चालू आवको तेस्रो त्रैमासमा भने यो रकममा बृद्धि भई कूल चुक्ता पूँजी ९ खर्ब ५ अर्ब ३० करोड ९४ हजार रुपैयाँ पुर्याएको छ ।

गत आवको तेस्रो त्रैमासमा बैंकको सञ्चित कोषमा ९८ करोड १२ लाख ६६ हजार रुपैयाँ रहेको चालू आवको सोही अवधिमा भने यो रकम घटेर ९४ करोड ८४ लाख ९३ हजार कायम भएको छ । बैंकले जगेडा कोष रकममा भने बृद्धि गरेको देखिएको छ । गत बर्षको तेस्रो त्रैमासमा २ अर्ब ११ करोड ४० लाख ७७ हजार रुपैयाँ रहेको जगेडा कोष रकम यस बर्षको सोही अवधिमा भने बृद्धि भएर २ अर्ब ५८ करोड २४ लाख ३३ हजार रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात ११.७५ प्रतिशत, बेस रेट ७.०९ प्रतिशत, स्प्रेड रेट ४.०४ प्रतिशत रहेको छ भने सिसिडि रेसियो ८०.३९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकको सिसिडि रेसियो ७७.६५ प्रतिशत रहेकोमा यस बर्ष भने २.७४ प्रतिशतले बढेको हो ।

यसैगरी समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा भने सामान्य बढेको देखिन्छ । अघिल्लो आवको चैत मसान्तमा बैकको निष्क्रिय कर्जा ०.४५ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा भने ०.६ प्रतितले बढेर ०.५१ प्रतिशत पुगेको हो ।

बैंकले प्रतिशेयर आम्दानीमा पनि बृद्धि गरेको छ । अघिल्लो बर्षको तेस्रो त्रैमासमा १७.१९ रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी चालू आवको तेस्रो त्रैमासमा भने बृद्धि भएर १९.०१ रुपयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर बजार मूल्य ३५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.५२, प्रतिशेयर नेटवर्थ १३९.३ रुपैयाँ रहेको छ भने तरलता अनुपात २२.५२ प्रतिशत रहेको छ ।

Related Posts