कोरोनाका गम्भीर बिरामीलाई बेड छैन, तर ठूला अस्पतालका बेड विदेशी पर्यटकलाई रिजर्भ

हिमाल आरोहणमा आउने पर्यटकहरूलाई काठमाडौंका ठूला अस्पतालले बेड छुट्याएर राख्दा कोरानाबाट गम्भीर बिरामीले उपचार नपाउने अवस्था आएको छ । ठूला अस्पतालले पर्यटकसँग मनग्य रकम असुल गर्न पाउने भएकाले दुई साताअगाडिदेखि नै पर्यटकलाई बेड होल्ड गरेर राखेका छन् । हिमाल आरोहणमा जाँदा पर्यटकहरूलाई समस्या पर्न सक्ने तथा कोरोनाको समेत जोखिम भएकाले बेड पाउन नसक्ने आकलन गर्दै ट्राभल एजेन्सीहरूले अस्पतालका बेड होल्ड गरेका हुन् । उनीहरूले ग्रान्डी, ओम, ह्याम्स, नर्भिक, स्टार, बयोधा, ग्रिनसिटीलगायतका ठूला सुविधासम्पन्न अस्पतालका बेड होल्ड गरेर राखेका छन् । सोहीअनु्सार पर्यटकहरू पनि बेसक्याम्पबाट सीधै अस्पताल गएर आराम गरिरहेका एक व्यवसायीले जानकारी दिए । उनका अनुसार कोेरोना संक्रमण फैलिएपछि विदेशीहरू मानसिक त्रासले अस्पतालमै गएर बसेका हुन् ।

‘अस्पतालमा बसेपछि बिमा गरेर आएका विदेशीहरूले बिमा रकमसमेत दाबी गर्न पाउने तथा अस्पतालहरूले पनि मनग्य आम्दानी गर्न पाउने देखिन्छ,’ ती व्यवसायीले भने । सोहीकारण पर्यटकसहित विदेशी कूटनीतिक नियोग तथा एनजिओ, आइनजिओमा आउने विदेशीहरूले पनि अस्पतालका सयाैँ बेडहरू होल्ड गर्न लगाएका छन् । हिमाल आरोहणमा मात्रै यो सिजनमा विभागबाट ८५ आरोहण दलबाट ७ सय ४२ आरोहीले आरोहणको अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ४३ समूहका ३ सय १५ पुरुष र ९२ जना महिला गरेर ४ सय ८ जनाले अनुमति लिएका छन् । आरोहणमा आउनेहरूका सहयोगी तथा आफन्त पनि हुने भएकाले धेरै बेडहरू होल्ड भएका छन् ।

सगरमाथा बेसक्याम्पमा नै कोरोना फैलिएको आशंका
कोभिड–१९को दोस्रो लहरको जोखिमका बीच सयौँ सहयोगीसहित विभिन्न हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा जम्मा भएका छन् । सगमारथा आरोहणका लागि मात्रै आधार शिविरमा झन्डै ४ हजार मानिसहरू जम्मा भएका छन् । सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गरेको जनाउँदै आए पनि एकपछि अर्को आरोहणमा गएका विदेशी नागरिकका कोरोना संक्रमण देखिएको छ । केही दिनअगाडि आरोहणमा आएका नर्वे र भारतका एक–एकजनालाई कोरोना संक्रमण देखिएको थियो । एकजना आरोही गाइड शेर्पालाई पनि कोरोना संक्रमण देखिएको छ । आधार शिविरमा समस्या देखिएपछि हेलिकोप्टरमा उनीहरूलाई काठमाडौं ल्याइएको थियो । अहिले एकजनाको ग्रान्डी र एकजना ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । मंगलबार पुनः आरोहणमा गएका रसियाली दुईजना नागरिकमा कोरोना संक्रमण देखिएपछि काठमाडौं ल्याइएको छ । ती रसियाली भने होटेल आइसोलेसनमा बसेका छन् ।

सहकार्य नहुँदा समस्या
पछिल्लो समय धेरै होटेलले आइसोलेसन बनाउन तयारी गरे पनि सहकार्यको अभावले ठोस कार्य अगाडि नबढेको होटेल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । होटेल संघ नेपाल (हान)मा आबद्ध होटेलहरूसँग मात्रै काठमाडौंमा मात्रै ६ हजार ५ सय रुम तारे होटेलमा नै रहेका छन् । भने देशभर ६० हजार रुम रहेका छन् । यता साना नन्तारे होटेलहरूमा देशभर १ लाख ६० हजार कोठा रहेका छन् ।

अस्पताल, नेपाल सरकार र होटेल व्यवसायीबीच छलफल भएर मेडिकल टिम प्रत्येक होटेलमा खटाउन सकेमा तत्कालै काठमाडौंमा मात्रै ६ हजार ५ सय रुम तारे होटलमा नै उपलब्ध हुने अवस्था रहेको महासचिव शाक्यले बताए ।

धौलागिरी आरोहणमा गएका १९ आरोहीलाई कोरोना संक्रमण

द गार्डियनले धौलागिरी हिमाल आरोहणमा जाने क्रममा १९ जनाभन्दा बढी आरोहीलाई कोरोना संक्रमण भएको जनाएको छ । द गार्डियनले आफ्नो अनलाइन संस्करणमा धौलागिरी बेसक्याम्पमा आरोहणमा गएका १९ जनाभन्दा बढी आरोहीलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । सबै आरोहीलाई एयरलिफ्ट गरेर काठमाडौं पठाइएको जनाइएको छ । द गार्डियनलाई सेभेन समिटका सञ्चालक तथा गाइड मिग्मा शेर्पाले र्‍यापिड टेस्टको क्रममा ती आरोहीलाई कोरोना पोजेटिभ देखिएको जनाएका छन् ।

सस्तो मूल्यमै होटेल आइसोलेसनमा
निजी अस्पतालहरूले कोरोनाका बिरामीसँग महँगो शुल्क असुल गरिरहेका वेला दुई होटेलहरूले सस्तो मूल्यमै आइसोलेसन सेवा सुरु गरेका छन् । तीनतारेस्तरका कान्तिपथमा रहेको एल्लो प्यागोडा र ठमेलमा रहेको टिम्बर हाउसले आइसोलेसन सुरु गरेका हुन् । टिम्बर हाउसले ३५ वटा बेडमा आइसोलेसन सुरु गरेको छ भने एल्लो प्यागोडाले ३२ वटा बेडमा आइसोलेसन सेवा सुरु गरेको छ । दुवै होटेलले ५ हजार देखि ७ हजार रुपैयाँ प्रतिदिन शुल्क तोकेका छन् । ‘चारपटक खानेकुरा खुवाएर डिलक्स रुममा राखेका छौँ, आवश्यक पर्नेलाई अक्सिजनको सेवासमेत दिएका छौँ,’ टिम्बर हाउसका सञ्चालक राजेन्द्र अम्गाईले भने ।

तीन दिनअगाडिबाट मात्रै सुरु गरेको आइसोलेसनमा अहिले खास गरी विदेशी मात्रै रहेको र नेपालीलाई पनि सजिलै राख्ने अम्गाईले जानकारी दिए । मेडिकल टिमसहित रहेको र डाक्टरले बिरामी हेर्नुपरेमा चार्ज बिरामीले छुट्टै खर्च व्यहोर्नुपर्ने उनको भनाइ छ । टिम्बर होटेलले मेरो अस्पतालसँग सहकार्य गरेको छ । यता एल्लो प्यागोडाले गौतम बुद्ध अस्पतालसँग सहकार्य गरेको अनिलराज भण्डारीले बताए । केही दिन गम्भीर बिरामी पनि राखेको, तर असम्भव भएपछि परिवारमा बस्न नसक्ने पोजेटिभ देखिएकालाई मात्रै राख्न थालेको भण्डारीले बताए । ‘सबै अस्पतालमै बस्नुपर्ने खालका समेत आउन थालेपछि समस्या भयो,’ भण्डारीले भने ।

Related Posts