आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई दिने निजी क्षेत्रको घोषणा

अक्सिजन सिलिन्डरको अभाव भएपछि सरकारले गैर मेडिकल क्षेत्रबाट ल्याउन पहल गरिरहेको छ। औद्योगिक क्षेत्रमा रहेका त्यस्ता सिलिन्डर ल्याउनका लागि प्रतिनिधिमुलक संस्थाहरुलाई सरकारले यसअघि नै आग्रह गरेको थियो।

सरकारले आग्रह गरेपछि निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले सामूहिक विज्ञप्ति निकाल्दै उद्योगीलाई सिलिन्डर बुझाइदिन आग्रह गरेका थिए।

अहिलेसम्म सिलिन्डर बुझाउनका लागि निर्देशन नै नदिएपनि सरकार आफैले सिलिन्डर ट्रयाक गरेको र त्यसपछि बुझाउन आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए।

‘हामीले पनि हाम्रो छातामा भएका उद्योगीलाई सरकारलाई सिलिन्डर बुझाइदिन आग्रह गरेका छौं। सार्वजनिक रुपमा अनुरोध पनि गरेका छौं,’ गोल्छाले भने।

सरकारले सिलिन्डर कहाँ कति छन् भनेर आफै खोजिरहेको छ। सरकारले यसरी खोज्न थालेपछि सिलिन्डर प्रयोग गर्ने केही क्षेत्रले आफै बुझाउने घोषणा गरेका छन्। जलिविद्युत, ग्रिल तथा क्रसर व्यवासायीका प्रतिनिधिमुलक संस्थाहरुले सदस्य उद्योगलाई सिलिन्डर सरकारलाई बुझाइदिनु अनुरोध गरेका छन्।

क्रसर तथा खानी व्यवसायी महासंघले आफ्ना सदस्य उद्योगहरुलाई स्थानीय सरकार तथा प्रशासन मार्फत् आफ्नो सिलिन्डरको रेकर्ड राखेर सरकारलाई बुझाउन आग्रह गरेको छ। महासंघले विज्ञप्ती मार्फत् यस्तो आग्रह गरेको हो।

त्यस्तै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले पनि आफ्ना सदस्य उद्योगहरुलाई संकटको बेला आफूसँग रहेका खाली तथा भरिएका सिलिन्डर सरकारलाई बुझाउन आग्रह गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शले पनि यसअघि संयुक्त विज्ञप्ती जारी गर्दै उद्योगी व्यवसायीहरुलाई आफूसँग भएका सिलिन्डर बुझाइदिन आग्रह गरेका थिए।

Related Posts