नदीजन्य पदार्थ निकाल्न रोक

परासी : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सुनवल नगरपालिकाको जर्गाहास्थित पानभार खोला र सुनवलस्थित तुरिया खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ।

नगरपालिकाले उक्त खोलामा ठेक्का लगाएको छ। जथाभावी रूपमा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थको दोहन गरेको गुनासो बढेपछि उत्खननमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए। विगत १५ दिन अघिदेखि उक्त खोलाबाट स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गरिँदै आइएको थियो। निषेधाज्ञाको समयमा अन्य क्षेत्र बन्द हुने तर खोला दोहन बन्द नहुने भन्दै स्थानीयले प्रशासनको आलोचना गर्दै आएका थिए।

जिल्ला विपद् व्यवस्थापन समितिले खोलाहरूमा थुप्रिएको नदीजन्य पदार्थबाट विपद् निम्तिन सक्ने भन्दै राष्ट्रपति चुरे– तराई मधेस संरक्षण समितिमा स्काभेटर प्रयोग गर्नका लागि सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार समितिले मेसिन प्रयोग गर्न दिएको थियो।

स्थानीयका अनुसार नदीजन्य पदार्थले कुनै जोखिम आउने सम्भावना थिएन तर नगरपालिकाको सहमतिमा विपद् व्यवस्थापन समितिले सिफारिस दिएको भन्दै आश्चर्य व्यक्त गरेका छन्।

खोलामा तीन वटा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खननको अनुमति दिइएको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बताए। तर ठेकेदारले भने ५ देखि ७ वटासम्म स्काभेटर लगाएर बिहानदेखि रातिसम्म नदीजन्य पदार्थ उत्खनन गर्दै आएका थिए। सोही गुनासो प्रशासनमा पुगेपछि प्रमुख जिल्ला अधिकारीले शनिबारदेखि उत्खननमा रोक लगाएका हुन्। समितिको वैशाख १३ गतेको अनुमतिपत्रमा पानभार खोलाबाट ३३ हजार ८ सय ६ घनमिटर नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको छ। तर ठेकेदारले त्योभन्दा बढी नदीजन्य पदार्थ निकालेर डम्पिङ गर्ने र बिक्री गर्दै आएको स्थानीयको आरोप छ।

Related Posts