कोरोना: भारतमा मृत्यु हुनेको संख्या हाल सम्मकै उच्च, गंगा नदीमा फेरी ७१ जनाको लाश फेला !

भारतमा कोरोना भाइरस सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ४ हजार बढिको मृत्यु भएको छ ।

भरतमा एकै दिन ४ हजार २०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि शुक्रबार सबैभन्दा बढी चार हजार एक सय ८७ जनाको मृत्यु भएको थियो ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार दुई सय २५ पुगेको छ । साथै भारतमा मृत्यु हुनेको संख्या बढे पनि पछिल्लो केही दिन यता भने संक्रमित हुनेको संख्या घटिरहेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार पाँच सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै भारतमा सक्रिय सङ्क्रमितको संख्या ३७ लाख नौ हजार पाँच सय ५७ पुगेको छ ।

त्यस्तै, अहिलेसम्म दुई करोड ३३ लाख ४० हजार चार सय ५६ जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो तीन दिनयता दैनिक थपिने सङ्क्रमितको संख्या चार लाखभन्दा तल झरेको छ ।

साथै भारतमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट अत्यन्त खतरनाक रहेको विश्व स्वास्थ्य सङ्गठनले बताइसकेको छ । बी।१।६१७ नाम दिइएको यो भेरियन्ट भारतमा सबैभन्दा पहिले गत अक्टुरबरमा फेला परेको थियो ।

अहिले भारतमा देखिएको यो भेरियन्ट विश्वका ४४ देशमा पुगिसकेको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।

यस्तै भारतको गंगा नदीमा केहिदिन यता विभिन्न घाटहरुमा तैरिरहेको अवस्थामा लाशहरु देखिएका छन् ।

हिजो पनि ७१ जनाको लाश भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारको बक्सर जिल्लाको सिमरी क्षेत्रमा गंगा नदीमा लाशहरु भेटिएका हुन् ।

सोमबार पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन भन्दा धेरै लाश भेटिएका थिए । यी लाशहरु कहाँबाट आए भन्ने यकिन नभए पनि कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव हुन सक्ने अनुमान गरिएको बीबीसले जनाएको छ ।

Related Posts