माउन्टेन इनर्जीको आईपिओमा गोलाप्रथा निश्चित, कति पर्यो आवेदन ?

माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको आईपिओमा ३ गुणा बढीको आवेदन परेको छ। दोस्रो दिन बेलुका ५ बजेसम्ममा कम्पनीको आईपिओमा २ लाख ७८ हजार ६ सय १६ आवेदकबाट ६२ लाख २५ हजार ४ सय १० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ३.४० गुणा बढी हो ।

यस संगै कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने छ । अर्थात् आवेदन दिएका सबैले शेयर पाउने छैनन् ।

कम्पनीले कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । तर शेयर गोलाप्रथाबाट हुने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन।

कम्पनीको आईपिओमा छिटोमा मङ्सिर ३ गतेसम्म आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीको हाल दुई वटा आयोजना संचालनमा छ । कम्पनीको नुवाकोट जिल्लाको सुन्दरादेवी गा.वि.समा ५ मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत आयोजना छ भने म्याग्दी जिल्लाको नारच्याङ्ग गा.वि.समा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजना छ । मिस्ट्री खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रति मेगावाट १३ करोड ४३ लाख ४८ हजार र तादी खोला (थप्रेक) जलविद्युत आयोजनाको लागत प्रति मेगावाट १८ करोड ४९ लाख १६ हजार रहेको छ । दुवै जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ५६ करोड ७२ लाख १३ हजार रहेको छ ।

५ मेगावाटको तादी खोला आयोजनाले २०६९ चैत्र १४ गते देखि नै ब्यबसायीक उत्पादन थाली सकेको छ । मिस्ट्री खोला जलविद्युत आयोजनाको निर्माण ९६.१८ प्रतिशत सकिएको छ ।

कम्पनीले आईपिओबाट उठेको सम्पूर्ण रकम मिस्ट्री खोला जलविद्युत आयोजनाको निमार्ण तथा कर्जा चुक्ता गर्न प्रयोग गरिने उल्लेख गरेको छ । कम्पनीले लगानीकर्तालाई २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सकिने उल्लेख गरेको छ ।

Related Posts