आजै काठमाडौं आइपुग्दै व्यापारीले चीनबाट ल्याएको अक्सिजन सिलिन्डर

नेपाली ब्यापारीले स्थलमार्ग हुँदै चीनबाट ल्याएको अक्सिजन सिलिण्डर आजै मध्यरातिसम्म काठमाडौं आइपुग्ने भएको छ। आज सोमबार दिउँसो १२ बजे तातापानी नाकाबाट भित्रिएका अक्सिजन सिलिन्डर बेलुकासम्म त्यहाँबाट छुट्ने र मध्यरातिसम्म काठमाडौं आइपुग्ने भएको छ।

व्यापारिक प्रयोजनका लागि व्यवसायीहरुले चीनबाट ल्याउन लागेको १८ हजार थान मध्ये १० लिटर क्षमताको २५०० थान अक्सिजन सिलिण्डर आज तातोपानी नाका आइपुगेको सिल्क ट्रान्सपोर्टले जनाएको छ।

आज भित्रिएका चार कन्टेनर मध्ये दुई कन्टेनरमा अक्सिजन सिलिण्डर रहेको सिल्क ट्रान्सपोर्टका एक अधिकारीले बिजपाटीलाई बताए। उनकाअनुसार अरु कति आउँदैछ त्यो आएपछि मात्र थाहा हुनेछ।

नेपाल भित्रिएको अक्सिजन सिलिन्डर नेपा हिमा ट्रेड लिंकले नेपाल भित्र्याएको थाहा हुन आएको छ। व्यवसायीहरुकाअनुसार व्यवसायी दीपक मल्होत्रा र अरु व्यवसायीहरुले मिलेर अक्सिजन सिलिन्डर नेपाल आयात गरेका हुन्।

अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री सोमबार दिउँसो मात्रै तातोपानी नाका आइपुगेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले पुष्टि गरेका छन्।

व्यवसायीहरुले यो लटमा ल्याउने भनिएको १८ हजार थान मध्ये आज मध्यराति सम्म २५०० थान काठमाडौं आइपुग्ने र बाँकी विस्तारै नेपाल भित्रिने बताइएको छ।

अहिले व्यवसायीहरुले व्यवसायिक प्रयोजनको लागि नेपाल भित्र्याएको अक्सिजन सिलिन्डर सुरुमा चीनले अनुदानमा दिएको सिलिण्डर भएको प्रचार गरिएको थियो।

यता चीनले अनुदानमा दिने भनिएको १८ हजार थान अक्सिजन सिलिण्डर पनि सरकारको पहलमा नेपाल भित्रिने क्रममा रहेको कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ।

Related Posts