कृषिमा आत्मनिर्भर हुनका लागि यान्त्रिकीकरण हुनु आवश्यक छ : मन्त्री अर्याल

जेठ ३, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छन् ।

एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उनले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताइन् ।

कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको बताइन् । उनले परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने पनि बताइन् ।

कृषि यान्त्रिकीरकणका लागि सरकारले नीति बनाई सकेको छ र त्यो अनुसार काम अगाडी बढी सकेको बताउँदै उनले सरकारले डिजिटल नेपालको कल्पना गरेको र त्यो अनुसार काम भइरहेको जानकारी दिइन् ।

कृषि मन्त्रालयले माटो मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उनले कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको पनि बताइन् ।

कृषिमा यान्त्रिकीकरणका लागि निजी क्षेत्रको पनि ठूलो भूमिका रहेको बताउँदै उनले निजी क्षेत्रले प्रशंसनीय कार्य गरेको र कृषि मन्त्रालयले हातोमालो गरेर काम गर्न चाहेको प्रतिवद्धता व्यक्त गरिन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्न आवश्यक रहेको भन्दै उत्पादनमा वृद्धि गराउनका लागि यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताए ।

Related Posts