मल ढुवानीमा देखिएको समस्या समाधान हुन्छ : कृषिमन्त्री अर्याल

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्‍माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नहुने बताएकी छन्।

केहीदिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचार सञ्चारमाध्यममा आएपछि कृषिमन्त्री अर्यालले शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन–निरीक्षण गरेकी छन्।

कम्पनीमा मौज्दात रहेको मलको निरीक्षणपछि आयोजित पत्रकार सम्मेनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यो सिजनका लागि मलको कुनै समस्या नभएको बताए। तर कोभिड–१९ का दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लामा मलको ढुवानीमा समस्या देखिएको भए पनि गुनासो आउने बित्तिकै त्यसको समाधान गरिएको मन्त्री अर्यालले बताइन्।

‘यो सिजनको बाली लगाउने प्रयोजनका निम्ती साउनसम्म हामीसँग मल स्टक छ। अहिलेसम्मको प्रमाणले खेतीबाली लगाउनसम्मका लागि कुनै समस्या छैन’, मन्त्री अर्यालले भनिन्, ‘मलको वितरणमा समस्या नहोस् भनेर हामीले विशेष ध्यान दिइरहेका छौँ। कोभिडका कारण वितरणमा केही ठाउँमा समस्या देखिएको छ त्यसलाई तत्काल समाधान गर्नेगरी हामी अगाडि बढेपछि त्यो समस्या समाधान भइसकेको छ।’

कोरोनाको दोस्रो लहरको प्रकोपका कारण बन्द भएको अवस्थामा वितरणमा समस्या देखिएको गुनासो आए पनि अहिले त्यसको समाधान भइसकेको उनको भनाइ छ। यसको विषयमा मन्त्रीपरिषद्‍मा समेत छलफल गरेर समाधान गरिएको उनको भनाइ छ।

कोभिडका कारण बन्द रहेको अवस्थामा पनि किसानले गुनासो गर्ने ठाउँ नराखिकन मलको आपूर्तिमा ध्यान दिन मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन दिएकी छन्।

‘मल ढुवानीमा देखिएको समस्या हामीले तत्काल सहजिकरण गरिसकेका छौँ। कोभिड संक्रमणलाई ध्यानमा राखेर कर्मचारीको स्वास्थ्यको समेत ख्याल गर्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर किसानलाई नियमित रुपमा मल वितरण कार्यमा लाग्नुहोस्’, मन्त्री अर्यालले भने, ‘फलाना ठाउँमा जाँदा मल पाइएन भन्ने ढंगले किसानको गुनासो आउने अवस्थाको सिर्जना नहोस्। यसमा तपाईंहरु सचेत रहनुहोला।’

मलको समस्या दीर्घकालका लागि समेत समाधान गर्न सरकार निरन्तर लागिरहेको भन्दै उनले त्यसैका निम्ती मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढेको बताइन।

त्यसका निम्ति सरकारले बजेटको समेत व्यवस्था गरिसकेको भन्दै उनले यस योजनालाई सफल बनाउन सबै लाग्नुपर्ने बताइन्। आफ्नै पालामा उत्तरी नाकाबाट समेत मल ल्याउन सफल भएको भन्दै उनले मलको व्यवस्थाका निम्ती भारतसँग सम्झौता गर्ने प्रक्रिया अगाडि बढेको बताइन्।

भारतसँगै बंगलादेश, चाइना, ओमानलगायतका देशसँग समेत मलको विषयमा छलफल अगाडि बढेको भन्दै मन्त्री अर्यालले ती देशबाट सकारात्मक सन्देश प्राप्त भएको बताइन।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग गरी हाल जम्मा ३५ हजार २ सय ९० मेट्रिक टन यूरिया, ५३ हजार ७ सय ३० मेट्रिक टन डीएपी, ८ हजार ४२ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन रासायनिक मल मौज्दात रहेको जानकारी दिएको हो। त्यस अवसरमा ६५ हजार मेट्रिक टन यूरिया मल मार्गस्थलमा रहेको र असार महिनाभित्रै प्राप्त हुने अवस्था रहेको जानकारी दिइएको थियो।

जम्मा मौज्दात रहेको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग २० हजार ८६ मेट्रिक टन यूरिया, ३९ हजार २ सय ८६ मेट्रिक टन डिएपी, ४ हजार १ सय ४६ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन मौज्दात रहेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल १५ हजार २ सय ४ मेट्रिक टन यूरिया, १४ हजार ४ सय ४४ मेट्रिक टन डिएपी र ३ हजार ८ सय ९६ मेट्रिक टन पोटास रासायनिक मल मौज्दात रहेको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकारी उर्मिला श्रेष्ठले जानकारी दिइन्। रासायनिक मलको अभाव नरहेको र ढुवानीमा देखिएको समस्या पनि सरकारले समाधान गरिसकेकाले ढुक्कक रहन कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए।

Related Posts