बन्द रहेको दामन भ्यु टावर पुनः सञ्चलन गर्ने तयारी

राममणि दाहाल

हेटौँडा, असार ३० गते । गत वर्षदेखि नै बन्द रहेको दामन भ्यु टावर पुनः सञ्चलन गर्ने तयारी भएको छ । थाहा नगरको दामनमा रहेको भ्यु टावर एन्ड दामन रिसोर्टसमेत कोरोनाका कारण गत वर्ष वैशाखबाट बन्द छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण देखाउँदै भाडामा सञ्चालनको जिम्मा लिएको निजी कम्पनीसँगको सम्झौता रद्द भएपछि दामन भ्युटावर गत छ महिनादेखि ठप्प छ ।

थाहा नगरपालिका राजस्व परामर्श समितिले बन्द अवस्थामा रहेको भ्यु टावर पुनः सञ्चालनमा ल्याउन सुझावसहित निर्णय गरेको छ । प्रकाश होटल इन्टरनेसनलसँगको ठेक्का रद्द भएसँगै गत पुस महिनादेखि बन्द रहँदै आएकोमा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो ।

समितिका सदस्य एवं थाहा नगर उद्योग वाणिज्य सङ्घका महासचिव सुरेन्द्रमान प्रधानले समितिले भ्युटावर भाडामा दिएर पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी दिँदै अहिलेलाई भ्युटावर मात्र सञ्चालन गर्न दिने गरी सुझाइएको बताउनुभयो ।

भ्युटावर एन्ड दामन रिसोर्ट परिसरमा रहेको भ्युटावरबाहेक अन्य होटललगायतका संरचना हटाउने योजना रहेको सुनाउँदै उहाँले विस्तृत परियोजना प्रस्ताव बनाएर नयाँ र सुविधा सम्पन्न संरचना निर्माण गर्ने तयारीमा रहेको बताउनुभयो ।

सङ्घीय सरकारले पर्यटन मन्त्रालयअन्तर्गत रहेको भ्युटावर एन्ड दामन रिसोर्ट करिब १५ वर्षदेखि स्थानीय तहको जिम्मा लगाइएको छ । सुरुमा तत्कालीन जिल्ला विकास समितिले सञ्चालनको जिम्मा पाएकोमा थाहा नगरपालिका गठनपछि नगरपालिकाको जिम्मामा आएको छ ।

भ्युटावरबाट पालुङ उपत्यका र वरपरका प्राकृतिक दृश्यसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, गणेश, मकालुलगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ । भ्युटावरमा प्रवेश गरेबापत नेपालीलाई ३० र विदेशी नागरिकलाई ५० रुपियाँ शुल्क लिइने गरिएको छ ।

भ्युटावरमा रहेको दुईवटा टेलिस्कोपमध्ये एउटा द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले लगेपछि हाल एउटा मात्र रहेको र पुरानो भएकाले धमिलो देखिने गरेको छ ।
नगरपालिका उपप्रमुख खड्ग गोपालीले करिब १७ लाख रुपियाँको लगानीमा टेलिस्कोप खरिद गर्ने निर्णय भए पनि कोरोनाका कारण ल्याउन समस्या भएको बताउनुभयो । उहाँले रिसोर्ट ठेक्का दिन चाँडै नै बोलपत्र आह्वान गरिने जानकारी दिँदै पर्यटक आकर्षित गर्न नयाँ संचरना बनाउने योजना बनाइएको बताउनुभयो ।
विसं २०१३ ताका त्रिभुवन राजपथ निर्माण गर्नेक्रममा निर्माण गरिएको भ्युटावरको सञ्चालनको जिम्मा पछिल्लो समय स्थानीय तहमार्फत निजी क्षेत्रलाई ठेक्कामा दिँदासमेत व्यवस्थित हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण घट्दै गएको छ । प्रकाश होटलले पाँच वर्षका लागि ४७ लाख ६३ हजार रुपियाँमा ठेक्कामा लिएर २०७४ कात्तिक १५ बाट सञ्चालन गर्दै आएको थियो ।
भ्युटावरमा रहेको रिसोर्टमा पर्यटकका लागि सामान्य, लक्जरी र डिलक्स गरी १३ वटा कोठा रहेका छन् । तर होटल बन्द भएपछि सरसफाइ र रेखदेखको अभावमा ती प्रायजसो जीर्ण बनेका छन् ।

Related Posts