काठमाडौं : पहिलो चरणको कोभिडबाट थला परेको समग्र अर्थतन्त्र फेरी पनि धरासायी बन्ने सक्ने अवस्था सिर्जना भएको छ। गत् मंसिरदेखि कोभिड संक्रमणको दर घट्दै गएपछि आर्थिक क्षेत्र केही खुकुलो बन्न थालेको थियो। तर गत वैशाखदेखि फेरि सुरु भएको दोस्रो र तेस्रो लहरका कारण आर्थिक क्षेत्रको अवस्था फेरि थला पर्न थालेको छ। कोभिड महामारीका कारण सबैभन्दा बढी पर्यटन, मनोरञ्जन, यातायात, साना तथा लघु उद्यम, उत्पादन, निर्माणलगायतका क्षेत्रले व्यहोर्नु पर्‍यो। अहिले पनि यो क्षेत्रले क्षति व्यहोर्दै छ।

annapurna post

यस्ता क्षेत्र प्रभावित हुँदा लाखौं व्यक्तिले रोजगारी गुमाएका छन्। हरेक क्षेत्रको उत्पादन प्रणाली र वितरण प्रणालीमा असर परेको छ। यसरी राष्ट्रिय उत्पादन गर्ने क्षेत्रहरू प्रभावित हँुदा अघिल्लो आर्थिक वर्षको आर्थिक वृद्धिदरसमेत ऋणात्मक हुन पुग्यो। कोभिडले विश्व अर्थतन्त्रमा ठूलो क्षति गरेसँगै नेपालले पनि महामारी नियन्त्रणका लागि अघिल्लो वर्षको चैत ११ गतेदेखि लामो समयका लागि निषेधाज्ञा गर्‍यो। कोभिड रोकथाम गर्न लगाइएको निषेधाज्ञाका कारण आर्थिक क्रियाकलाप ठप्प हुन पुग्यो।

संक्रमण रोकथामका लागि अपनाइएका स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै क्रमशः खुकुलो बनाउँदै लगिएसँगै विस्तारै आर्थिक अवस्था चलायमान बन्दै गएको थियो। तर पहिलेको अवस्थामा भने अधिकाँश क्षेत्र फर्कन पाएको छैन। त्यो वेलाको निषेधाज्ञा र कोभिडको महामारीका कारण नेपालको अर्थतन्त्रमा करिब ३ खर्ब २२ करोडको क्षति भएको थियो। यसलाई उकास्न करिब ६ खर्ब ६२ करोड रुपैयाँको लगानी गर्न आवश्यक रहेको राष्ट्रिय योजना आयोगले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

अघिल्लो पटकको निषेधाज्ञाका कारण समग्र औद्योगीक क्षेत्रमा क्षति पुग्दा आर्थिक वर्ष २०७६÷७७ को आर्थिक वृद्धि लक्ष्यभन्दा २ दशमलव २८ प्रतिशतले संकुचन आयोे। तर सरकारले ७ प्रतिशतसम्मको लक्ष्य लिएको थियो। यसअघि लगातार ३ आर्थिक बर्षमा उच्च आर्थिक वृद्धि हासिल गरेकोमा कोभिड–१९ ले अनपेक्षित चुनौती थपेको नेपाल राष्ट्र बैंकले औंल्याएको छ।
यद्यपि कोभिडको दोश्रो र तेश्रो लहर बढ्दै गर्दा आर्थिक बर्ष २०७७÷७८ मा भने ४ प्रतिशतको मात्रै लक्ष्य लिईएको थियो। यसको नतिजा पनि कमै आउन सक्ने विज्ञहरूको आंकलन छ।
यसबीच कोभिडलाई अभ्यस्त बनाउदै अधिकांश उद्योग तथा व्यवसाय सञ्चालन भएकाले पनि गत आवको ४ प्रतिशतको लक्ष्य हासिल हुन सक्ने बैंक विज्ञ अनलराज भट्टराईको अनुमान छ। तर चालु आव २०७८÷७९ को वजेट वक्तव्य मार्फत सरकारले साढे ६ प्रतिशतको महत्वकांक्षी लक्ष्य राखेको अर्थविदको भनाइ छ। यद्यपि सरकारको नेतृत्व फेरिएसँगै नयाँ अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट वक्तव्यलाई संशोधनका लागि संसदमा लगेकाले परिवर्तन हुनसक्ने अनुमान गर्न सकिन्छ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा ७० प्रतिशतले गिरावट आएको बताउँछन्। कोभिडअघिसम्म दैनिक करिब १० अर्बको व्यापार व्यवसाय हुँदै आएको थियो। निषेधाज्ञाका कारण दैनिक ५ देखि ६ अर्बको व्यापार व्यवसाय नोक्सानी भएको श्रेष्ठको भनाइ छ। ‘कुन क्षेत्रमा कति क्षति भयो भनेर अहिले नै अंकमा भन्न सक्ने अवस्था छैन’, श्रेष्ठ भन्छन्, ‘अंकमै भन्न केही समय अझै कुर्नुपर्छ।’

उद्योगहरू जेठ अन्तिम सातादेखि जेनतेन गरी ३० देखि ५० प्रतिशतको क्षमतामा चल्न थालेका छन्। चलेका उद्योगबाट उत्पादन भएका वस्तुले बजार नपाएको उनको भनाइ छ।
बैंक विज्ञ भट्टराईका अनुसार समग्रमा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ। ‘प्रत्येक क्षेत्रमा नकारात्मक प्रभाव परेपनि कोभिडले प्रविधि प्रयोगमा सकारात्मक प्रभाव पार्‍यो। प्रविधिले अनलाईन अध्ययनदेखी व्यापार व्यवसाय भने केही विस्तार गर्न सहयोग भयो,’ अन्नपूर्णसँग उनले भने,‘तर समग्र अर्थतन्त्रलाई शिथिल नै बनाएको छ। यसले गर्दा अघिल्लो वर्ष आर्थिक वृद्धि निकै कम हुन पुग्यो। यस वर्ष पनि त्यति धेरै लक्ष्य लिन सक्दैनौं।’

नेपाल राष्ट्र बैंकले गत आवको तेस्रो चौमासको मौद्रिक नीतिले कोभिड–१९ ले अनपेक्षित चुनौती थपेको औंल्याएको छ। विगत २ वर्षदेखी कोरोना महामारीका कारण मुलुकले धनजनकै क्षती व्यहोर्नु परेको छ। यस्ता क्षतीका कारण अर्थतन्त्र शिथिल हुन नदिन हरेक क्षेत्रले प्रयास गरीरहँदा तेस्रो लहरको कोभिडबाट भने सबै क्षेत्र सजग हुनुपर्ने अर्थविद् डिल्लिराज खनाल बताउछन्।

नेपाल राष्ट्र बैंकले गत वैशाखमा अर्थतन्त्रमा कोभिडको प्रभाव शिर्षकमा एक सर्वेक्षण गरेर प्रतिवेदन सार्वजनिक गरेको थियो। यसको नतिजाअनुसार २०७७ असारको तुलनामा २०७८ बैशाखमा उद्योगव्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ। गत असारको तुलनामा उद्योगव्यवसायको उत्पादन तथा कारोबारको अवस्था र रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको देखिन्छ।

यद्यपि अझै पनि २०७६ फागुन अघिको अवस्थामा भने उद्योगव्यवसायहरू फर्कन नसकेको देखाएको छ। अध्ययनले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुने निचोड निकालिएको छ। समग्र क्षेत्रको स्थिती र अर्थतन्त्रमा परेको प्रभावबारे केन्द्रिय बैंकले अध्ययन गर्ने तयारीमा रहेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले जानकारी दिए।

डा. श्रेष्ठका अनुसार पछिल्लो समय क्रमशः सबै प्रकारका उद्योग तथा व्यवसाय सञ्चालनमा सुधार आए पनि साना तथा मझौला उद्योगको भने तुलनात्मक रुपमा कम सुधार भएको छ। ‘रोजगारी र ज्यालादारीलाई अधिक प्रभाव देखिएको छ। तर पहिलो लहरमा भन्दा दोस्रो लहरमा कर्जा प्रवाह बढेको छ। आयात पनि उल्लेख्य वृद्धि भएको छ,’ अन्नपूर्णसँग उनले भने।
नेपाल उद्योग परिसंघ (सीएनआर्ई) ले पनि कोभिड प्रभावबारे अध्ययन गरेको थियो। सिएनआईका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार अहिले उद्योगहरूको उत्पादन क्षमता ५० देखी ६० प्रतिशतसम्म पुगेको छ। ‘पहिलो चरणको लहरमा धेरै जोखिम हँुदा उद्योगहरू करिब ठप्प थिए। तर अहिले यसको क्षमता आधा मात्रै भएपनि बढेको छ,’ उनले भने।

राष्ट्र बैंकले वैशाखमा गरेको सर्वेक्षणअनुसार कोभिड महामारीपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशतको संख्यामा मात्रै उद्योग व्यवसायहरू पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ बैशाखमा बढेर ८१ दशमलव २ प्रतिशत पुगेको छ। सर्वेक्षणमा सहभागी विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका शत प्रतिशत उद्योगव्यवसायहरू पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ। हालसम्म पनि ४.२ प्रतिशत उद्योगव्यवसायहरू सञ्चालनमा आएको छैन्।

Related Posts