बुलिस प्रवृत्ति कमजोर देखिए पनि नेप्सेमा फेरि नयाँ इतिहास

काठमाण्डौं । गत साता नेप्से परिसूचक २७ दशमलव ६२ अंकले बढेको छ भने कारोबार रकम पनि करिब ५ प्रतिशतले घटेको छ । सो अवधिमा नेप्से ३ हजार १ सय ४० मा पुगेर नयाँ उचाइ कायम गरेको छ । यद्यपि, साताभरमा ६४ अर्ब ५२ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

कारोबार भएको कुल सेयरको संख्यामा पनि करिब २२ प्रतिशतले कमी आएको छ । कुल १३ करोड १० लाख कित्ता सेयर तथा इकाइको कारोबार भएको हो । सातामा होटेल, जीवन तथा निर्जीवन बिमा, सामूहिक लगानी कोष र टेलिकम सूचीकृत ‘अन्य’ समूहगत परिसूचक घटेका छन् । हालै सूचीकृत जीवन विकास लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५२ प्रतिशतले बढेर १ हजार ५ सय ६ रुपैयाँ मूल्य पुगेको छ । कारोबार रकमका आधारमा अपि हाइड्रोपावरको सबैभन्दा धेरै २ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

हाल प्रवृत्ति : गत साताको अन्तिम तीन दिनमा नेप्सेले पहिलो दिन सेतो (हरियो), दोस्रो दिन सानो आकारसहितको कालो (रातो) र अन्तिम दिन लामो शरीरसहितको कालो मैनबत्ती बनाएको छ । यसमा सुरुको दुई दिनको मैनबत्तीबीचको दूरीलाई तेस्रो दिन बनेको मैनबत्तीले पुरेको छ । अन्तिम दिन बनेको मैनबत्ती यो प्रवृत्तिको सुरुको दिनको मैनबत्तीको शरीरभित्रै सीमित छ ।

अर्थात्, सुरुको दिनको सुरु बिन्दुभन्दा अन्तिम दिनको अन्तिम बिन्दु केही माथि नै छ । यो प्रवृत्तिलाई टू क्रोज बियरिस आकृति मान्न सकिन्छ । यसले बजार घट्ने सम्भावना भए पनि यो मध्यम प्रभावसहितको प्रवृत्ति मानिन्छ । यसले बुलिस प्रवृत्ति कमजोर भइरहेको संकेत गर्छ ।

आइतबारको पहिलो कारोबार हेरेर निर्णय लिनु सही हुन्छ । मुभिङ एभरेज रेखाले भने अहिलेसम्म बजार बुलिस प्रवृत्तिमै रहेको संकेत गरिरहेको छ । २१ दिने मुभिङ रेखालाई काटेर केही दिनअघिदेखि माथि लागेको नेप्सेको ७ दिने रेखाबीच दूरी कायमै नै छ ।

यद्यपि, यसमा विशेष ध्यान दिनुपर्ने पनि देखिएको छ । ७ दिने रेखा माथि हुँदा बजार बुलिस नै रहेको र २१ दिने रेखा माथि रहेमा बजार बियरिस प्रवृत्तिमा रहेको विश्लेषण गरिन्छ ।

१४ दिने आरएसआई सूचकले बजार अधिक खरिदको अवस्थाबाट सामान्य हुने तयारीमा रहेको संकेत गरेको छ । यो सूचक स्केल ८४ दशमलव ०४ मा आएको छ । अघिल्लो दिन ८९ दशमलव ११ मा पुगेर सूचक ओर्लिएको हो ।

स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । सातामा ३ हजार १ सय ४० को उच्च बिन्दु छोएर घटेको नेप्सेले पिभट विश्लेषणअनुसार आगामी एक सातामा ३ हजार ७५ मा पहिलो टेवा पाउनेछ र यस टेवाका कारण नेप्से बढ्न थालेमा ३ हजार १ सय ४० मै पहिलो प्रतिरोध परीक्षण गर्नेछ ।

साभार नयाँ पत्रिका

Related Posts