काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लगातार उकालो लागेका बेला बिहीबार हालसम्मकै धेरै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार रुपैयाँको सेयर कारोबार भएको छ। केही वर्षअघि सेयरको दैनिक कारोबार १ अर्ब नाघेकामा भोज गरेको नेप्सेका लागि यो उत्साहप्रद हुन सक्छ।

annapurna post

२०७५ को अन्त्यतिर ११०० अंकमा झरेपछि नेप्सेले ३१ महिनाको ओरालो यात्राबाट ‘यू–टर्न’ गरेको थियो। त्यसयता बढ्दो बजारमा लकडाउनकै बीच गत भदौदेखि लगानीकर्ताको प्रवेश एक्कासि बढ्न थालेको थियो। चुलिँदो कारोबार रकमले नयाँ लगानीकर्ताको प्रवेश बढेको पनि संकेत गर्छ। गत महिना दैनिक औसत १०.७३ अंक बढेको नेप्सेको रफ्तार तिहारपछि भने तीव्र बनेको छ।

तिहारअघि १७१८ अंकमा रोकिएको नेप्से त्यसपछिका दुई दिनमा ६० अंक बढेर बिहीबार १७७८ अंकमा पुग्यो। बिहीबार मात्रै सेयर सूचकांक ३२ अंक अर्थात् २ प्रतिशतभन्दा ज्यादा बढ्यो। अब नेप्सेलाई यसअघिको कीर्तिमानी उचाइ भेट्टाउन १०३ अंक मात्रै खाँचो छ। अर्थात् यो रफ्तार कायम रहने हो भने आगामी साता नै सेयर बजारमा नयाँ कीर्तिमानी उचाइ कायम हुनेछ।

सूचक र कारोबार बढेसँगै सेयर बजारको आकारमा पनि भारी बढोत्तरी भएको छ। बिहीबार नेप्सेको बजार पुँजीकरण २३ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ नाघेको छ। यो गत आर्थिक वर्षको मुलुकको कुल गार्हस्थ्य उत्पादनको ६३.२५ प्रतिशत हो। यसले सेयर बजारको आकार मुलुकको अर्थतन्त्रको दुई तिहाइ हाराहारी पुग्न थालेको देखाएको छ।

लगानीको संकुचित विकल्प
कोरोना भाइरस संक्रमण सुरु भएसँगै पछिल्लो एक वर्षमा नेपालसहित पूरै विश्वमै लगानीको वातारण खुम्चिएको छ। यसले अन्तर्राष्ट्रिय व्यापार, सीमापार रोजगारी र वैदेशिक भुक्तानीलाई पनि निकै ठूलो असर पुग्यो। मानिसहरू भौतिक दूरी कायम गर्न थाल्ने र धेरैले रोजगारीबाट हात धुनुपर्ने अवस्थाले एकातिर समष्टिगत माग घट्न पुग्यो भने घुमफिर र घरबाहिरका क्रियाकलाप बन्दप्रायः भएपछि पैसा हुनेले खर्च गर्ने ठाउँ पाएनन्।

बैंकमा पैसा थुप्रिन थाल्यो। ऋण माग्नेहरू कम भए। यसले वित्तीय प्रणालीमा बुधबारसम्म १ खर्ब ७८ अर्ब रुपैयाँ अधिक तरलता थुप्रिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। ‘अधिक तरलता खिच्न राष्ट्र बैंकले खुला बजार कारोबारका औजारको प्रयोग गरिरहेको छ’, प्रवक्ता डा. भट्टले भने। यद्यपि, बैंकहरू राष्ट्र बैंकले मागेजति निक्षेप बेच्न अहिले पनि तयार छैनन्। बरु ब्याज घटाएरै भए पनि ऋणी खोज्न उनीहरू लालायित छन्।

फलस्वरूप केही बैंकले ८ प्रतिशतभन्दा पनि सस्तो ब्याजमा सेयर किन्न ऋण दिइरहेका छन्। त्यसो त केन्द्रीय बैंकले लकडाउनका कारण समस्यामा परेका उद्योग व्यवसायलाई निरन्तरता दिन त्यसअघि लिएको ऋणको १० प्रतिशत चालु पुँजी कर्जा थपिदिने नीति ल्याएको थियो।

संकटबाट पुनरोद्धार गर्न ल्याइएको यो योजनाअन्तर्गत थप ऋण लिएका व्यवसायीले त्यो पैसा धेरै हदसम्म सेयर बजारमा लगानी गरिरहेको बैंकरले बताउँदै आएका छन्। यसको पुष्टि भने हुन सकेको छैन। यसरी अन्यत्र लगानी गर्न नपाएका लगानीकर्ताले उच्चतम पुँजीगत लाभ आर्जन गर्न सेयर बजार रोज्दा अहिलेको विषम अवस्थामा पनि घरेलु सट्टेबजारमा ‘उछाल’ आएको छ।

विसंगतिको परिणाम
कतिपय सेयर विश्लेषक सेयर बजार उचालिनुमा लगानीयोग्य पैसाको पर्याप्ततासँगै सीमित धनीहरूको कृत्रिम सट्टेबाजीले धेरै सहयोग पु¥याएको बताउँछन्। कमजोर नियमन र लहडमा लाग्ने लगानीकर्ताका कारण नेपाली सेयर बजारमा गैरकानुनी कारोबार बढिरहेको ब्रोकर र लगानीकर्ता पनि स्वीकार गर्छन्।

नेपाल धितोपत्र बोर्डले आन्तरिक सूचनामा आधारित भएर सेयरको कारोबार गर्न प्रतिबन्ध लगाएको छ। यस्तो अपारदर्शी कारोबारले बजारमा स्वस्थ माग सिर्जनामा अवरोध खडा गर्छ। अनलाइन कारोबार सुरु भएपछि त यस्ता विकृति घट्नुको साटो अझै बढ्न थालेको सेयर विश्लेषक प्रकाश तिवारी बताउँछन्।

‘इनसाइडर ट्रेडिङ, सेयर कर्नरिङ र कृत्रिम माग सिर्जना गरेर लाभ लिने परिपाटी निकै बढेको छ’, तिवारी भन्छन्। सेयरको दोस्रो बजार कारोबार सुरु भएको तीन दशक पुग्न लाग्दा पनि नेप्से वा धितोपत्र बोर्डले आन्तरिक सूचनामा आधारित भएर कारोबार गरेको भन्दै छानबिन र कारबाही चलाउन सकेको छैन। बजार हल्ला मात्र होइन, नियमन निकायका अधिकारीसमेत यस्ता विकृति बजारमा भइरहेको स्वीकार गर्छन्। तर त्यसलाई अनुसन्धानको दायरामा ल्याउन सकेका छैनन्। ‘दण्डहीनता बढेपछि जसले सक्छ उसले नांगो नाच देखाउँछ’, विश्लेषक तिवारी भन्छन्, ‘अहिले त्यही भइरहेको छ।’

ब्रोकरहरू पनि लगानीकर्ताले घरमै बसेर आफूखुसी सेयर किनबेच गर्ने भएपछि सोझासाझा लगानीकर्तालाई ‘छल्न’ पहिलेभन्दा सहज भएको बताउँछन्। चलिरहेको मूल्यभन्दा सस्तोमा दसौं हजार कित्ता सेयरको खरिद आदेश (डिमान्ड) राखिदिने र अरूलाई त्योभन्दा महँगोमा सेयर किन्न उक्साउने प्रवृत्ति बजारमा हावी भएको लगानीकर्ता बताउँछन्। यस्तो कृत्रिम माग देखाएर महँगोमा किन्न तयार भएका लगानीकर्तालाई आफैं सेयर बेच्ने प्रवृत्ति बढेको छ।

यस्ता विकृति ल्याउनमा ‘मल्टिपल लगइन’ अर्थात् एउटै व्यक्तिले एकभन्दा बढी हितग्राही खाता सञ्चालन गर्ने र धेरै ब्रोकरमार्फत कारोबार गर्ने प्रवृत्तिले ठूलो सहयोग पु¥याएको छ। एउटा खाताबाट कृत्रिम माग देखाउने र अर्कोबाट सेयर बेच्ने चलाखी ठूला लगानीकर्ताले गरिरहेको ब्रोकर पनि बताउँछन्।

Related Posts