महासंघ निर्वाचनः अस्तित्वमै नरहेका वित्तीय संस्था कसरी मतदाता ?

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा अस्तित्वमै नरहेका संस्थाहरु मतदाताको सूचीमा परेको विषय बाहिरिएको छ । मजै भएर गईसकेका बैंक तथा फाइनान्सहरुको नाम समेत मतदाताको सूचीमा परेपछि धाँधली हुन सक्ने आशंका गर्दै महासंघको २ नम्बर प्रदेश समितिका अध्यक्ष शिव शंकर शाह (हिरा) ले प्रशासनमा निवेदन दिएका छन् ।

उनले अस्तित्वमा नै नरहेका कम्पनीहरु मतदाताका रुपमा रहेको सूची आएपनि चैत्र ११, १२ र १३ गतेका लागि तय भएको महासंघको ५४ औँ साधारणसभा र निर्वाचन स्थगितको माग गर्दै उनले प्रशासनमा निवेदन दिएका हुन् । यस बारेमा अहिले कुनै सुनुवाई नभईसकेको र आइतबार सुनुवाई हुन सक्ने जानकारी आफूले पाएको शाहले बिजपाटीलाई बताएका छन् ।

अस्तित्व नभएका संस्था कसरी मतदाता ?

महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको दोस्रो चरणको मतदाता नामावलीको सूचीमा मर्ज भएर गईसकेका बैंक तथा फाइनान्सको नाम पनि उल्लेख छ । प्राइम कमर्शियल बैंकसँग मर्ज भएको कैलाश विकास बैंक, एमएमबी बैंकसँग मर्ज भएको ओम फाइनान्स, राष्ट्रिय वाणिज्य बैंकले किनेको एनआरडीसी डेभलपमेन्ट बैंक, मेगा बैंकमा गाभिएको टुरिजम डेभलपमेन्ट बैंक र प्रभू क्यापिटलसँग मर्ज भएको ग्रमुर मर्चेन्ट बैंक महासंघको मतदाताको सूचीमा छन् ।

यस विषयमा निर्वाचन समितिले भने यो नै अन्तिम नामावली नरहेका कारण आशंक नगर्न भनेको छ । महासंघको यस अगाडीको सूची अनुसार पहिलो सूची सार्वजनिक गरिएको र त्यसमा दाबी विरोध नपरेपछि दोस्रो सूची सार्वजनिक गरिएको निर्वाचन समितिका सदस्य एवम् प्रवक्ता लिलामणि पौडेलले बताएका छन् ।

‘अहिले महासंघको पूरानो रेकर्ड अनुसार पहिलो सूची सार्वजनिक भएको हो, निर्वाचन तालिका अनुसार ११ गते अन्तिम सूची आउँछ’ पौडेलले भने, ‘११ गते यी नाम देख्न पाईने छैन, अस्तित्वमा नभएका संस्थाहरु मतदाताको सूचीमा परेको भन्ने कुरा निर्वाचन समितिले नोट गरेको छ ।’

सार्वजनिक संस्थानको हकमा भने संस्थानले आफ्नो प्रतिनिधि पठाउने र उक्त व्यक्ति सम्बन्धित संस्थामा आवद्ध भएको व्यक्ति हुनुपर्ने पौडेलको भनाई छ ।

Related Posts