घट्न थाल्यो कोरोना संक्रमणको गति, निको हुने दर ९४% नजिक

काठमाण्डौ । कोरोना संक्रमणको दर बिस्तारै घट्न थालेको छ ।

पछिल्लो समय देशभर पहिलाको तुलनामा कम संख्यामा पीसीआर परीक्षण भइरहेको छ । तर, परीक्षणमा आएका नमूनाहरुमा पनि पोजिटिभ रिपोर्ट आउनेको दर घटिरहेको देखिएको हो ।

गत २४ घण्टाकै उदाहरण हेर्दा पनि संक्रमण दर बिस्तारै घटिरहेको देख्न सकिन्छ । यो २४ घण्टामा देशभर ६ हजार ७४ नमूना परीक्षण गरिएकोमा १ हजार २४ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । यो भनेको करिब १७ प्रतिशत मात्र हो । जब कि केही साताअघिसम्म नेपालमा कोरोना संक्रमणको दर २५ प्रतिशतभन्दा माथि रहेको थियो।

संक्रमणको यो दर पछिल्ला केही दिनहरुमा जारी रहेको छ । यस हिसाबले समेत पीसीआर कम परीक्षण भएर मात्र नभई संक्रमणको दर नै घटेका कारण संक्रमितको संख्या घटिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

एकातिर संक्रमण दर कम हुँदै गएको छ भने अर्कोतर्फ निको हुनेको संख्या लगातार बढिरहेको छ । गत २४ घण्टामा देशभरबाट २ हजार २०६ संक्रमित निको भएका छन् । योसहित निको हुने दर ९३.४० प्रतिशत पुगेको छ । यो नेपालमा कोरोनाबाट निको हुने हालसम्मकै सर्वाधिक दर हो ।

शनिवारसम्म देशभर २ लाख ३९ हजार ८८५ व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये २ हजार २४ हजार ५३ जना निको भएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ मात्र रहेको छ । कुनै बेला सक्रिय संक्रमितको संख्या ५० हजार माथि पुगेको थियो ।

पछिल्लो २४ घण्टामा देशभर थप १० संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ५७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय मृत्युदर भने थोरै बढेर ०.६६ प्रतिशत पुगेको छ ।

Related Posts