प्राविधिक विश्लेषकहरु भन्छन्: बजारको भीषण गिरावट ‘स्वभाविक’, नेप्से चाँडै २३०० सम्म पुग्नसक्छ

काठमाण्डौ । आज आइतबार नेप्सेमा भएको भीषण गिरावटलाई प्राविधिक जानकारहरुले ‘सामान्य’ र ‘स्वभाविक’ मानेका छन् ।

चर्चित सेयर बजार प्राविधिक विश्लेषक बिष्णु बस्याल आजको बजार गिरावट प्राकृतिक रहेको जिकिर गर्दै बजारले ‘पेण्डिङ करेक्सन’को स्वरुप धारण गरेको बताउँछन् । नेप्सेको २१ सय विन्दूमा सार्प करेक्सन आवश्यक रहेको उनले औँल्याए । सोही करेक्सनको आवश्यकताले नै बजार भीषण रुपमा खसेको उनको दाबी छ ।

बस्याल एमएसीडी र आरआसआईका अनुसार बैंकिङ सेक्टरबाहेक अरु सबै सेक्टर ओभरआउट जोनमा रहेकाले समेत बजार करेक्सन स्वभाविक भएको बताउँछन् । बस्यालको दाबीअनुसार बजार अझै ७-८ दिनसम्म करेक्सन फेजमा नै रहने अधिक संभावना छ । ‘करेक्सन भएमा नेप्से १८५० विन्दूसम्म झर्ने अपेक्षा गर्न सकिन्छ’,बस्यालले बिजशालासँग भने-‘भोलि नै बाउन्स पनि आउनसक्छ । यदि नेप्से १९ सय विन्दूबाट फर्किएको खण्डमा अर्को र्याली समात्दै नेप्सले २३ सय विन्दू चुम्छ ।’

अबको र्यालीमा माइक्रो र इन्स्योरेन्स सेक्टरले लिड गर्ने बस्यालको प्रक्षेपण छ । माइक्रो अनपेक्षित द्रूत गतिमा दौडिने उनले ठोकुवासमेत गरे । बैंकमा पनि केही भाइब आउने उनले तर्क गरे ।

अर्का प्राविधिक जानकार सूकराम पाण्डे करेक्सको एक चरणमा आउनुपर्ने बताए । नेप्से १६५० बाट बढेको बजारमा आजको बजार घटाइलाई ‘सार्प प्रफिट बूकिङ’का रुपमा पाण्डे लिन्छन् । बजारको यो करेक्सन भने स्वभाविक नै रहेको उनको भनाइ छ । राष्ट्रबैंकको समाचारले समेत बजार केही प्रभावित भएको तर्क गरेका पाण्डेले चाँडै नै प्रफिट बूक गरेकाले समेत बजार करेक्सन आएको दाबी गर्छन्।

तर, १९५२ विन्दूबाट बजार फर्कने सम्भावना रहेको बताउँदै उनले भोलि दोस्रो कारोबार प्रहरपछि भने बजार ननस्टप निकै माथि जाने प्रक्षेपण गरे । यदि बजारको करेक्सन यथावत रहे अरु १०० अंक तलसम्म ओर्लने सम्भावना रहेको उनको दाबीसमेत छ ।

आजको अनपेक्षित बजार खसाईको मुख्य कारणको रुपमा लगानीकर्ताहरुले राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलाई अगाडि सारेका छन् । यद्यपि प्राविधिक जानकारहरुले भने बजारको करेक्सन स्वभाविक रहेको दाबी गरेका छन् ।

Related Posts