परिसूचकमा झिनो वृद्धि, अब बजार स्थिर रहला ?

काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक आज बिहीबार झिनो अंकले बढेको छ।

1603967301FoneLoan-250×250.jpg
सेयर कारोबार हुने साताको अन्तिम दिन परिसूचक ८.२७ अंकले बढेर १९६४.०२ को विन्दुमाउक्लिएको हो। परिसूचकमा झिनो अंकको वृद्धि भए पनि कारोबार रकम भने ह्वात्तै घटेर सवा ४ अर्ब रुपैयाँको हाराहारी भएको छ।

नाफा बुक गरी बजारको करेक्सनको पर्खाइमा रहेका ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा रहेकाले समेत बजारमा उत्साह नथपिएको विश्लेषकहरु बताउँछन्। उता साना लगानीकर्ताहरु घाटामा सेयर नबेच्ने रणनीतिमा रहेकाले समेत लगातार दुई दिनदेखि बजारमा आएको गिरावट आज थामिएको उनीहरुको ठम्याइ छ।

1600332188nlic.gif
पछिल्ला समय बजारमा नियामक निकायहरुले सेयर बजारलाई नीतिगत हस्तक्षेप गर्ने दाबी गरेपछि परिसूचकले यो साताको सुरुदेखि नै निरन्तर ओरालो गति लिएको थियो। तर बजारसम्बद्ध आधारभूत तथा प्राविधिक जानकारहरुले भने बजारमा करेक्सन आउन जरुरी रहेको र बजार साइडवेजमा जाने जिकिर गर्दै आएका छन्।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने बाँकी २ वटामा रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सबैभन्दा बढी २०६.२९ अंकले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ११८.३२ अंकले बढेको आज बैंकिङ समूहमा ८.४६ अंक, व्यापार समूहमा ३८.०२ अंक, होटेल्स् समूहमा ३०.६१ अंक, वित्त समूहमा १.८५ अंक, निर्जीवन बीमा समूहमा ७४.२२ अंक, अन्य समूहमा १३.१८ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ।

आज जलविद्युत् समूहमा ७६.४५ अंक र विकास बैंक समूहमा ३.८८ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०४ कम्पनीका ९८ लाख ८३ हजार १९७ कित्ता सेयर ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ०५० रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ३७ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको आज ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको २२ करोड ६५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १८ करोड रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ३० लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १२ करोड २० लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको ११ करोड ८५ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १० करोड ९५ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको १० करोड ५६ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको १० करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज दुईवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन लिबर्टी इनर्जीको सेयरमूल्यमा १० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज हिमालयन डिस्टिलरीको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएको छ।

आज माथिल्लो तामाकोशीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएको छ। त्यस्तै रसुवागढी हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा घटेको छ।

Related Posts