पाँच महिनामा ४ खर्ब ७५ अर्ब व्यापार घाटा, अघिल्लो वर्षको तुलनामा खुम्चियो

काठमाडौँ। चालू आर्थिक वर्ष २०७७/७८ को पाँच महिने अवधिमा नेपालको वैदेशिक व्यापार घाटा निरन्तर खुम्चिँदै गएको छ। भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ११ प्रतिशतले व्यापार घाटा घटेको छ।

विभागले आज पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै मंसिरसम्ममा १०.९१ प्रतिशतले व्यापार घाटा खुम्चिएको जानकारी दिएको हो।
गत आर्थिक वर्ष २०७६/७७ को पाँच महिने अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ५ खर्ब ३३ अर्ब ६४ करोड रूपैयाँको व्यापार घाटा व्यहोरेको थियो।

तर, यस वर्ष ५८ अर्ब २० करोडले व्यापार घाटा सुधारिँदै ४ खर्ब ७५ अर्ब ४४ करोडमा सीमित बनेको छ। खासगरी, नेपालको निकासीमा निरन्तर वृद्धि आउँदा र आयातमा कमी आउँदा व्यापार घाटामा सुधार आएको बताइएको छ।

निकासी बढ्यो, आयात वृद्धिमा ‘ब्रेक’

पाँच महिनामा नेपालको निकासी ५.१२ प्रतिशतले सुधारिँदै ५० अर्ब रूपैयाँको वस्तु निर्यात भएको छ। अघिल्लो वर्षको यही अवधिको भन्दा यो २ अर्ब ४४ करोडभन्दा बढी हो। गत वर्षको यही अवधिमा नेपालले जम्मा ४७ अर्ब ६१ करोड रूपैयाँको निकासी भएको थियो।

यसैगरी विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिरसम्मको अवधिमा नेपालको आयातमा ९.५९ प्रतिशतले गिरावट आएको छ। यसअनुसार नेपालले ५ खर्ब २५ अर्ब ४९ करोड रूपैयाँको आयात गरेको छ।

गत वर्षको मंसिरसम्ममा नेपालले विदेशबाट ५ खर्ब ८१ करोड २५ अर्ब रूपैयाँको आयात गरेको थियो। नेपालको आयातमा गिरावट आउँदा तथा निर्यातमा वृद्धि देखिए पनि आयात रोकिएको तुलनामा निकासी नबढ्दा वैदेशिक व्यापारको परिमाण नै घटेको छ।

गत वर्ष कुल ६ खर्ब २८ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएकोमा यस वर्ष ८.४८ प्रतिशतले घट्दै ५ खर्ब ७५ अर्ब रूपैयाँमा सीमित बनेको छ।

Related Posts