नेपाल सुनचाँदी व्यवसायी महासंघको महाअधिवेशन यही साता, नयाँ कार्यसमिति चयन हुने

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौँ तथा आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशन यही साता काठमाडौँमा हुने भएको छ।

काठमाडौँको होटल याक एण्ड यतीमा हुने कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल आउने कार्यक्रम रहेको महासंघले जानकारी दिएको छ। दुई दिनसम्म चल्ने महाधिवेशनले महासंघको ५५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि संघीय संरचनालाई आत्मसात् गर्दै सातवटै प्रदेशमा प्रदेश महासंघ गठन गरेअनुरूप प्रदेश महासंघहरूको निर्वाचन अग्रीम रूपमा सम्पन्न भइसकेको छ।

सरकारले तोकेको मापदण्डअनुसार सम्पन्न हुने महाधिवेशनमा देशभरका ६५ जिल्ला र नगर संघ तथा वस्तुगत र एसोसिएट सदस्यहरू गरी ६०० भन्दा बढीको सहभागिता हुने बताएको छ।

साधारणसभामा सरकारले सुनको कोटालाई २० किलोबाट १० किलोमा झारेपछि प्रभावित बनेको सुनचाँदी व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन छलफल हुने छ।

Related Posts