ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

चैत १६, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । कम्पनीको ऋणपत्रमा आवेदन दिने छिटो अवधि चैत ४ गतेसम्म रहेपनि उक्त मितिमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधि आज (चैत १६ गते) सम्म विक्रीमा रहने भएको हो ।

कम्पनीले १० वर्ष अवधिको ‘८ दशमलव ५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गरेको हो । कम्पनीलेले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कुल ऋणपत्रमध्ये १८ लाख कित्ता कम्पनीले परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई व्यक्तिगत तवरले विक्री गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र भने आम सर्वसाधारणका लागि विक्री गरेको हो ।

कम्पनीले सर्वसाधारणमध्ये बाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो । ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्र विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरीद गर्न चाहनेहरुले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिमको संकेत गर्ने इक्रा इस्युअर ए माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले यो ऋणपत्र निष्कासनका लागि फागुन १६ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

Related Posts