प्रिमियर इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (सोमवार, १६ चैत २०७७)

कम्पनीको १ लाख ४० हजार ५१० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । अब कम्पनीको शेयर संरचना संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २३ गते साधारणसभा बोलाएको छ । चैत १० गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ गुणा वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ८ करोड ९३ लाख नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १८ करोड ६९ लाखभन्दा बढी पुगेको हो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ५४ प्रतिशतले वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २८५ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप आकृति बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य अनिश्चित रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६३ दशमलव १७ बिन्दुमा छ ।

यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४१ दशमलव ८६ बिन्दुमा छ । उतारचढाव मध्यम रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बिहीवारको शेयर मूल्य रू. १ हजार २८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रू. १ हजार १५९ मा टेवा पाउने र महँगिए रू. १३१० मा प्रतिरोध पाउने देखिन्छ ।

Related Posts