बजेट राहत प्याकेजमा केन्द्रीत गर्न व्यवसायीको माग

आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट उद्योगी व्यवसायीको हितमा हुने गरी राहत प्याकेजमा केन्द्रित गर्न पोखराका उद्योगी एवं व्यवसायीहरुले माग गरेका छन् । कोरोनबाट प्रभावित भएका व्यवसायीहरु विस्तारै माथि उठ्न लागेसँगै पुनः कोरोना संक्रमण बढ्न थालेको अवस्थाले व्यवसाय प्रभावित हुने हँुदा आगामी बजेट राहत प्याकेजमै केन्द्रित गर्न व्यवसायीहरुले माग गरेका हुन् । कार्यक्रममा वक्ताहरुले कोरोनाबाट प्रभापित भएका व्यवसायीको उत्थान नभएसम्म सरकारको ध्यान उनीहरुमा केन्द्रित हुनु पर्ने माग राखेका हुन् ।

कोभिड–१९ को दोस्रो लहर सुरु भएको र यसले समग्र आर्थिक क्षेत्रमा प्रभाव पार्न सक्ने देखिएकोले बजेट राहत प्याकेजमा केन्द्रित हुने गरी ल्याउन संघका अध्यक्ष नारायण कोइरालाले माग गरे । गिर्दो अर्थतन्त्र उकास्नका लागि सरकारबाट घोषित कार्यक्रम कार्यान्वयनमा सुस्तता आएको उनको गुनासो छ । उनले भने, “राजनीतिक तरलताले लगानी सुरक्षित नहुने जोखिम बढेको छ”, लागत बढ्ने र उत्पादकत्व घट्ने परिस्थिति निजी क्षेत्रमा देखा पर्न थालेको छ, अबको बजेट वर्तमान परिस्थितिले सृजना गरेका समस्या समाधान गर्ने होस ।”

अध्यक्ष कोइरालाले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ तथा संघीय सरकारको बजेट निर्माणमा सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका अर्थशास्त्री केशव आचार्यलाई संघको तर्फबाट बजेटमा समेटिनुपर्ने विषयहरु लिखित रुपमै हस्तान्तरण गरे । अध्यक्ष कोइरालाले नीतिगतसहित उद्योग, निर्यात, कृषि, राजस्व र कर, पर्यटन, यातायात क्षेत्रको लागि सरकारले दिनुपर्ने सुविधाबारे बिस्तृत सुझाव पेश गरेका हुन् ।
मन्त्री गुरुङले गण्डकी सरकार निजी क्षेत्रको माग संवोधन गर्न सकारात्मक भएको बताए । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले उद्योगको कच्चा पदार्थ र विद्युतीय सामानहरुमा भन्सार छुटको माग पनि गरे । महासघंका केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरीले बजेट वितरणमुखी नभइ अर्थतन्त्र उकास्ने खालको हुनुपर्नेमा जोड दिए ।

अर्थशास्त्री केशव आचार्यले मानव विकास सूचकांकमा गण्डकी प्रदेश अगाडि रहेको तथ्य पेश गर्दै सरकारले आउँदो बजेट सार्वजनिक स्वास्थ्यको क्षेत्रमा लगाउनुपर्ने धारणा राखे । उनले गण्डकीको अर्थतन्त्रमा सेवा क्षेत्रको ५२.६४ प्रतिशत योगदान रहेकोले पनि सेवा क्षेत्र तहसनहस हुँदा अर्थतन्त्र खस्कनसक्ने चिन्ता व्यक्त गरे । पृथ्वीनारायण क्याम्पसका अर्थशास्त्र विभागका अध्यक्ष लेखनाथ भट्टराईले गण्डकी प्रदेश सरकारले पर्यटन, जलस्रोत र जडिबुटीको क्षेत्रमा बढी लगानी गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उद्यमी विकास समिति सदस्य रामकली खड्काले विदेशी मुद्रा भित्र्याउने हस्तकला उद्योगलाई विशेष सहुलियत र प्राथमिकता दिनुपर्नेे माग गरिन् । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न बिदा पर्यटनको अवधारणा कार्यान्वयन हुनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले आउँदो बजेटले उत्पादनमूलक क्षेत्रलाई विशेष महत्व दिनुपर्ने तथा रुग्ण उद्योगलाई सहुलियत प्याकेजको माग गरे । पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य पवित्रा गुरुङले महिला उद्यमीहरुको उत्पादन बिक्रीको लागि कोसेली घर बनाउनुपर्ने बताइन् ।सुनचाँदा व्यवसायी संघ कास्कीका महासचिव तारा गौतमले सुनको आपूर्ति बढाउन माग गरे ।

Related Posts