‘धितोपत्र बजार पनि सम्पत्ति शुद्धिकरणबाट प्रभावित हुने जोखिम’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाज्यूले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निरूत्साहनका लागि वित्तीय क्षेत्रका नियमन निकायहरू समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईले मंगलबार आयोजना गरेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका क्षेत्रमा काम गर्ने सम्बद्ध निकायहरूसँगको अर्न्तक्रिया कार्यक्रममा अतिथिको रूपमा अध्यक्ष ढुंगानाले उक्त धारणा राखेका हुन्।

उनले सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी अपराध नवीनतम् प्रकृतिका आर्थिक अपराध भएको र यस्ता अपराधहरु नियन्त्रण गर्न अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रयासहरु हुँदै आएकोमा नेपालमा पनि सरकारले कानूनी एवं नीतिगत व्यवस्थाहरू गरेको बताए । सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीले कुनै पनि राज्यको आर्थिक व्यवस्थामात्र नभई राज्यका सामाजिक, राजनीतिक तथा कानूनी लगायतका हरेक क्षेत्रमा प्रतिकुल पार्ने हुँदा वित्तीय प्रणालीको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको धितोपत्र बजार पनि यस सम्वन्धी अपराधवाट प्रभावित हुने जोखिम रहने स्पष्ट पारे ।

उनले सम्पत्ति शुद्धीकरणकर्ताले उक्त सम्पत्तीलाई शुद्धीकरण गर्ने उद्धेश्यले अन्य क्षेत्र लगायत धितोपत्र बजारलाई समेत सम्पत्ती शुद्धीकरणको कुनै चरणमा प्रयोग गर्नसक्ने उत्तिकै सम्भावना रहने बताए । यस्ता जोखिमको न्यूनिकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (दोस्रो संशोधन) तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरीङ) निवारण नियमावली, २०७३ ले नेपाल धितोपत्र बोर्ड लगायतका सम्वन्धित क्षेत्रका नियमनकारी निकायलाई यस सम्वन्धमा स्पष्ट अधिकार सहितको जिम्मेवारी प्रदान गरेको प्रकाश पारे ।

उनले यस व्यवस्था अनुसार बोर्डले पनि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्वन्धी निर्देशन, २०७६ मिति २०७६।०४।०१ देखि लागू गरेको र उल्लेखित कानुनी व्यवस्था बमोजिमको कानुनको पालना नगर्ने सूचक संस्थालाई बोर्डले दण्ड सजाय गर्ने अभ्यास समेत शुरु गरिसकेको बताए । कार्यक्रममा उनले धितोपत्र बजारमा सम्पत्ती शुद्घीकरण निवारणका लागि यसै वर्ष जोखिममा आधारित सुपरिवेक्षणको म्यानुअल तैयार गरेको र सोही अनुरुप सुपरिवेक्षण गर्ने कार्य शुरु भैसकेको जानकारी दिदै लगानीकर्ताहरुको ग्राहक पहिचानको नयाँ ढाँचा तयार गरी सुचक संस्थाहरुलाई अद्यावधिक गर्न निर्देशन दिइएको बताए ।

अध्यक्ष ढुंगानाले सुचक सस्थाले ग्राहक पहिचानसंग सम्वन्धित विवरण एकिकृत रुपमा विद्युतिय माध्यममा राखि जोखिम सापेक्ष हुने व्यवस्था समेत गर्न सहज होस भन्नाको लागि सिडिएस एण्ड क्लियरिङ्ग लि. वाट पेश भएको केन्द्रिकृत ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धि कार्य संचालन निर्देशिका, २०७७ स्वीकृत गरि कार्यान्वयनको लागि निर्देशन दिइसकिएको जानकारी गराए । गुणस्तरिय प्रतिवेदन वा सूचना दिनका लागि धितोपत्र वजार सम्वद्ध सूचक संस्थामा समेत GoAML प्रणाली कार्यान्वयन हुने क्रममा रहेको बताए ।आगामी दिनमा यस कार्यलाई थप प्रभावकारी बनाउन बोर्डको संगठनात्मक संरचनामा संशोधन गरी कानुन महाशाखा अन्तर्गत सम्पत्ति शुद्धीकरण तथा गुनासो व्यवस्थापन शाखाको व्यवस्था समेत गरिएको जानकारी दिए ।

मन्तव्यकै क्रममा उनले धितोपत्र वजारको क्षेत्रगत जोखिम मुल्यांकन सम्वन्धमा विश्व वैकले उपलव्ध गराएको मूल्यांकन पद्धति अपनाई धितोपत्र वजारको क्षेत्रगत जोखिम मुल्यांकन गरिएकोमा जोखिमको स्तर Medium रहेको जानकारी गराउदै उक्त मुल्यांकनको आधारमा अब गर्नुपर्ने कार्यका प्राथमिकताको क्षेत्रहरु समेत पहिचान गरी कार्य अगाडि बढाउने योजना रहेको बताए ।

सूचक संस्थाको नियमन, अनुगमन तथा सुपरीवेक्षण गर्ने कार्य प्रभावकारी रुपमा सम्पन्न गर्नको लागि अन्य नियमनकारी निकायसँगको समन्वय एवं सहकार्यका लागि प्रभावकारी संयन्त्रको विकास गरी एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

Related Posts